जेष्ठ नागरिक दिवसको अवसरमा मंगलसेन नगरपालिका वडा नम्बर ४ र ५ द्धारा जेष्ठ नागरिकलाइ न्यानो कपडा वितरण


११ पौष,मंगलसेन – जेष्ठ नागरिक दिवस अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा स्थानीय सरकारहरुले आ–आफ्नो पालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि मनाएका हुन् ।

जेष्ठ नागरिकहरुको सम्मान स्वरुप मंगलसेन नगरपालिका वडा नम्बर४ र ५ ले न्यानो कपडा वितरण गरेका छन् । वडामा रहेका जेष्ठ नागरिकहरुको तथ्याङक संकलन गरि जाडो मौसममा जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन बल्याङकेट वितरण गरेका हुन् । जेष्ठ नागरिकहरुको सम्मान स्वरुप सानो भएपनी न्यानो लुगा वितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाटले बताउनुभयो ।

मंगलसेन नगरपालिका वडा नम्बर ४ ले १ सय ५० जनालाई न्यानो लुगा वितरण गरेको छ भने वडा नम्बर ५ ले १ सय ८० जनालाई वितरण गरेको छ । दुईवटै वडाले आ–आफ्नो वडा कार्यालयमा जेष्ठ नागरिक सम्मान कार्यक्रम राखेका थिए । स्थानीय सरकारले आफुहरुले समुदायको लागि पु¥याएको योगदानको सम्मान गर्दै न्यानो लुगा वितरण गरेकोमा जेष्ठ नागरिकहरु खुसी देखिएका छन् । वडा नम्बर ५ का वडाध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर वडा कार्यालयले प्रशंसनिय काम गरेको बताउनुभयो । विभिन्न काल खण्डमा समाज रुपान्तरणका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने जेष्ठ नागरिकहरुलाई सबै क्षेत्र बाट सम्मान हुन आवश्यक रहेको पुर्व सांसद बोगटीको भनाई छ ।
समाज रुपान्तरणका क्षेत्रमा जेष्ठ नागरिकहरुले निकै महत्वपुर्ण भुमिका खेलेकाले उहाहरुले आफ्नो उर्जावान समयमा समाज निर्माणमा पु¥याएको योगदानको पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने उहाँले बताउनुभयो । जिल्लाका अधिकांश सडक, भवन र अन्य संरचाना निर्माणमा जेष्ठ नागरिकहरुले ठुलो योगदान गरेको भन्दै उहाहरुको योगदानको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बुढापाहरु अनुभवका खानी भएकाले उहाहरुको सम्मान गर्नु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । जेष्ठ नागरिक संग भएको सिप पुस्ता हस्तान्तरणको माध्यमबाट समृद्ध समाज निर्माणमा प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक समाज अछामका अध्यक्ष तेज बहादुर बिष्टले स्थानीय सरकारले जेष्ठ नागरिकलाई गरेको सम्मानको प्रशंसा गर्नुभएको थियो । सरकार साहारा बिहिन जेष्ठ नागरिकको साहारा भएर आएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नगर उपप्रमुख संगीता रावल सोडारी, निवर्तमान उपप्रमुख सरिता उपाध्याय, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, ब्रह्माकुमारी ईश्वरिय विद्यालयका प्रमुख कविता कठायत लगायतले शुभाकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन वडा सचिव उर्मिला जिसीले गर्नुभएको थियो ।
यस्तै वडा नम्बर ४ मा पनि जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष नाम सिं धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवँरले राज्य जेष्ठ नागरिकको लागि ठुलो साहारा भएर आएकाले घर परिवार र समाजले पनि उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज जेष्ठ नागरिकहरुलाई सम्मान गर्नु भन्दा पनि अपहेलना गर्ने प्रवृति बढेकाले यसको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको संचालन वडा सदस्य नयन बहादुर बिकले गर्नुभएको थियो ।
