एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने कस्टमाईज तालिम मंगलसेनमा सम्पन्न: गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन नगर प्रमुखकाे जाेड ।

टेक राज भण्डारी: मंगलसैन नगरपालिकाका शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने कस्टमाईज तालिम दिईएकाे छ । शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा कक्षा १-३ मा अध्यापनरत शिक्षकहरुका लाग गरिएको तालिमकाे एक कार्यक्रमका विच समापन गरिएको छ ।

मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा बाेल्दै सहभागी शिक्षकहरु चन्द्रिका उपाध्याय र थम बहादुर बाेहराले तालिममा महत्त्वपूर्ण सिकाइ भएको बताउनु भयो ।तालिमका विषयवस्तुले आगामी सिकाइ र विद्यार्थीकाे मूल्यांकनमा सहयोग पुग्ने बताउनुभयो ।
समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख पदम बहादुर बाेहराले विद्यार्थीलाई राम्रोसँग सिकाएर गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयाे । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिईरहेकाे र यसकाे प्रतिफल प्राप्तिका लागि सबै शिक्षक, विद्यार्थी तथा अभिभावकले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
अब सबै मिलेर राम्रो गर्नुपर्ने र आफ्नाे जिम्मेवारी पूरा नगर्नेलाई कारबाही समेत हुने उहाँले बताउनुभयो ।

आफू सधैं शिक्षा र स्वास्थ्य क्षेत्रमा याेगदान गरिरहेकाे भन्दै नमूना विद्यालयका लागि पनि पालिका तयार रहेको भन्दै यसका लागि विद्यालय प्रशाशन तथा शिक्षकहरु बढी जिम्मेवार हुनुपर्नेमा जाेड दिनुभयाे ।
यही फागुन २३ गते शुरु भएको तलिमकाे उद्घाटन कार्यक्रममा मंगलसैन नगरपालिकाका सामाजिक विकास समिति संयाेजक बृख बहादुर बाेगटी लगायतको सहभागीता रहेको थियाे ।
तालिममा एकीकृत पाठ्यक्रम, निरन्तर विद्यार्थी मूल्यांकन, सिकाइ उपलब्धि मूल्यांकन अभिलेख लगायतका विषयमा प्रशिक्षक नवीन विष्ट, धन कुमार केसीले प्रशिक्षण दिनु भएको थियाे ।
तालिमकाे सहजीकरण तथा समन्वय नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दीपक बहादुर भण्डारीले गर्नुभएको थियाे ।
शाखा प्रमुख भण्डारीले आफुले सिकेका विषयवस्तु आफ्नाे विद्यालयका शिक्षकहरुमाझ अभिमूखिकरण गरि १ हप्ताभित्र शाखामा जानकारी गराउन आग्रह गर्नुभयो । तालिममा पालिकाका ४० जना बढी शिक्षक शिक्षिकाकाे सहभागीता रहेको थियाे ।


