मंगलसेन नगरपालिकाले ल्यायो ६४ करोड ४५ लाख ४६ हजार रुपैयाँको बजेट

नगरसभाको १७ औं अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, वार्षिक बजेट पेश

Kirci Gyan Kendra

टेक बहादुर थापा – अछाम, १० असारः

Samajik New Add 2082

अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख संगीता कुमारी रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।

नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीका अनुसार कुल बजेटमध्ये चालुतर्फ ४९ करोड रुपैयाँ र पुँजीगततर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र दिगो पूर्वाधार : आत्मनिर्भर मंगलसेनको बलियो आधार” भन्ने नारालाई सार्थक बनाउन बजेट केन्द्रित गरेको जनाएको छ। बजेटमा स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले अधुरा तथा बहुवर्षीय आयोजना सम्पन्न गर्ने, योजना तर्जुमा, बजेट विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन प्रक्रियाबीचको समन्वयलाई सुदृढ बनाउँदै नतिजामुखी कार्यसम्पादन प्रणाली अवलम्बन गर्ने नीति अघि सारेको छ। साथै संघ, प्रदेश, निजी क्षेत्र, सहकारी, सामुदायिक संस्था तथा विकास साझेदारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गरी समृद्ध, सुशासित र आत्मनिर्भर मंगलसेन निर्माणलाई तीव्रता दिने लक्ष्य लिएको छ।

शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण, बजार व्यवस्थापन तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन नगर प्रहरी परिचालन तथा व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। युवालाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ छुट्याइएको छ।

Saud Agro Kailash

शिक्षा क्षेत्रतर्फ बाल विकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीको थप तलब र अनुदान कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको छ। कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।

खेलकुद क्षेत्रको विकासका लागि मंगलसेनलाई खेल गतिविधिको केन्द्रका रूपमा विकास गर्ने, खेलाडी उत्पादन, खेल पर्यटन प्रवर्द्धन तथा आधुनिक खेल पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित मंगलसेन बृहत् खेलमैदान निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, मंगलसेन बजार क्षेत्रको सरसफाइ, वातावरणीय स्वच्छता तथा वर्षायाममा हुने जोखिम व्यवस्थापनका लागि ३० लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको छ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वडा नम्बर ५, ९, ११ र १३ का वडा कार्यालय भवन निर्माणका लागि संघीय सरकारको समपूरक अनुदान साझेदारीमा आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि प्राप्त सुझाव समेटेर कार्यान्वयन प्रक्रिया अघि बढाइने नगरपालिकाको भनाइ छ। नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीका अनुसार बजेट वक्तव्य तथा नीति–कार्यक्रम नगरपालिकाको वेवसाईट र आधिकारिक फेसबुक पेजमार्फत पनि सार्वजनिक गरिएको छ।

बुधबार सम्पन्न नगरसभाको १७ औं अधिवेशनको दुईवटै बैठकको जिल्लाका विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो। सभामा प्रस्तुत गरिएको वार्षिक बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सभा सदस्यहरुकले अध्ययन पश्चात दफाबार छलफल पश्चात आगामी बैठक मार्फत पारितका लागि पेश गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाले जानकारी दिनुभयो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.