अछाम — मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मंगलसेन नगरपालिकाको सहयोगमा ‘शैक्षिक सुधारमा सामाजिक व्यवहार र मूल्यमान्यता’ सम्बन्धी अभिभावक शिक्षा कार्यक्रम शिशुसुधार माध्यमिक विद्यालय, बस्तीमा सम्पन्न भएको छ।

वडा नं. १३ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मंगलसेन नगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रावलले शैक्षिक सुधारका लागि सामाजिक व्यवहार, नैतिक मूल्य र मान्यताको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो। उहाँले मालिका सामुदायिक सिकाइ केन्द्रले शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा नगर कार्यपालिका सदस्य हंश थापा राना, नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दीपकबहादुर भण्डारी तथा विद्यालयका प्रधानाध्यापक अर्जुनबहादुर थापाले पनि मन्तव्य राख्नुभएको थियो।
सामाजिक व्यवहार, मूल्यमान्यता तथा शैक्षिक सुधारका सामाजिक प्रयासका विषयमा प्रशिक्षक धर्मबहादुर साउदले सहजीकरण गर्नुभएको थियो।
सोही अवसरमा सिकाइ केन्द्रले विद्यालयमा सञ्चालन गरेको ‘विद्यालय शिक्षामा सामाजिक मूल्यमान्यताको प्रभाव’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा सिकाइ केन्द्रका उपाध्यक्ष मनिराम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन आजीवन सदस्य बिर्खबहादुर रानाले गर्नुभएको थियो।
यसैबीच, सोही प्रकृतिको अभिभावक शिक्षा कार्यक्रम यशोधरा माध्यमिक विद्यालय, बाँडामा पनि सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति सदस्य निर्मला बिकको अध्यक्षतामा आयोजित कार्यक्रममा मालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष होमबहादुर साउद, विद्यालयका प्रधानाध्यापक लालबहादुर धामी तथा निर्णायक समिति संयोजक भवानीप्रसाद ढुंगानाले मन्तव्य राख्नुभएको थियो।
उक्त कार्यक्रममा पनि विद्यालयमा सञ्चालन गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
केही तस्बिरहरूः
