अछाममा सामाजिक विकास निर्देशक समितिको ९औँ बैठक सम्पन्न, सुरक्षित आवास गृह सञ्चालन कार्यविधिको मस्यौदा स्वीकृत
अछाम, मंगलसेन नगरपालिकाको आयोजनामा जिल्ला स्तर सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिको ९औँ बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम शाही रहनुभएको थियो।
बैठकमा कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, साफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवर, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद, मंगलसेन नगरपालिका उपप्रमुख संगीता कुमारी रावल, प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, वडा अध्यक्षहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले स्वागत मन्तव्य सहित बैठकको विशेष सहजिकरण गर्नुुभएकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले सामाजिक क्षेत्र तथा सामाजिक विकास समिति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। यस्तै साफेबगर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख अनिता जाेशीले पालिका मार्फत सामाजिक क्षेत्र विकासमा भएका कार्यहरुकाे प्रस्तुति राख्नुभएको थियोे भने मंगलसेन नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मञ्जु महतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
बैठकले अछाम जिल्लाका दशवटै स्थानीय तहको संयुक्त साझेदारीमा सञ्चालन हुने “सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन कार्यविधि, २०८३” को मस्यौदालाई आवश्यक परिमार्जनसहित स्वीकृत गर्ने महत्वपूर्ण निर्णय गरेको छ। लैङ्गिक हिंसाबाट प्रभावित महिला, बालबालिका तथा जोखिममा रहेका व्यक्तिलाई सुरक्षित आवास, संरक्षण, मनोसामाजिक परामर्श, कानुनी सहजीकरण र पुनर्स्थापना सेवा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको कार्यविधिलाई सम्बन्धित स्थानीय तहका कार्यपालिका बैठकबाट अनुमोदन गरी कार्यान्वयनमा लैजान सिफारिस गरिएको छ।
बैठकले सुरक्षित आवास गृह सञ्चालनका लागि आवश्यक बजेट, लागत साझेदारी, जनशक्ति व्यवस्थापन तथा सेवा सञ्चालनको जिम्मेवारी सम्बन्धित स्थानीय तहहरूले सुनिश्चित गर्ने निर्णय गरेको छ। साथै कार्यविधिको प्रभावकारी कार्यान्वयन, अनुगमन र समन्वयका लागि जिल्ला स्तरको सामाजिक विकास निर्देशन समितिले आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ।
त्यसैगरी, लागत साझेदारी सम्झौतामा सहभागी भएका स्थानीय तहका सेवाग्राहीलाई मात्रै सेफ हाउसमार्फत सेवा तथा पुनर्स्थापना सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ। सुरक्षित आवास गृह सञ्चालनका लागि आवश्यक कर्मचारीको नियुक्ति, परिचालन तथा व्यवस्थापनको जिम्मेवारी सेफ हाउस सञ्चालक समितिलाई दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकले सुरक्षित आवास गृह सञ्चालन कोषलाई दिगो बनाउन नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सरकारी कार्यालय, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सहकारी, उद्योग–व्यवसायी, सामाजिक संघसंस्था तथा इच्छुक दाताहरूसँग आर्थिक, प्राविधिक तथा सामग्री सहयोगका लागि सार्वजनिक आह्वान गर्ने निर्णयसमेत गरेको छ।
सामाजिक विकासका क्षेत्रमा स्थानीय तहहरूले गरेका सफल र नवप्रवर्तनशील अभ्यासहरूको अभिलेखीकरण, नियमित आदानप्रदान तथा आवश्यकता अनुसार अन्य स्थानीय तहमा अनुसरण गर्ने निर्णय पनि बैठकले गरेको छ। यसबाट सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।
बैठकले छाउपडी प्रथाको अन्त्य गर्दै अछामलाई छाउगोठमुक्त, सुरक्षित तथा सम्मानजनक महिनावारी व्यवस्थापनयुक्त जिल्ला बनाउने अभियानलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ। बाँकी रहेका छाउगोठहरूको पहिचान, अभिलेखीकरण र प्रयोग पूर्ण रूपमा अन्त्य गर्न सबै स्थानीय तहलाई निर्देशन दिइएको छ। वडा तहसम्म जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षा निकाय, बाल क्लब, आमा समूह तथा युवाको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, मासिक प्रगति विवरण पेश गर्ने तथा सरकारी, गैरसरकारी र सञ्चारमाध्यमसँग सहकार्य गरी अभियानलाई तीव्रता दिने निर्णय गरिएको छ।
बैठकबाट प्रस्तुत सबै प्रस्ताव तथा निर्णयहरू सर्वसम्मत रूपमा पारित भएका छन्। जिल्ला स्तरमा सामाजिक विकासका साझा कार्यक्रमलाई समन्वयात्मक, प्रभावकारी र दिगो रूपमा अघि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको आयोजकले जनाएको छ।