अछाम, मंगलसेन। मंगलसेन नगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ सहर निर्माण गर्ने उद्देश्यका साथ हरित सडक प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत मंगलसेन नगरपालिका र सामुदायिक वन उपभोक्ता महासंघ अछामको साझेदारीमा मंगलसेन बजार क्षेत्रको सडक किनारामा वृक्षारोपण अभियान सुरु गरिएको हो।

पहिलो चरणमा मंगलसेनको जिरोपोइन्टदेखि नगरपालिकाको कार्यालयसम्म विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनेछन्। बिरुवाको संरक्षणका लागि प्रत्येक बिरुवामा फलामे ट्री गार्ड समेत जडान गरिने नगरपालिकाले जनाएको छ। वृक्षारोपण अभियानको शुभारम्भ मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका बीच गर्नुभयो। उहाँले हरित वातावरण निर्माण, सडकको सौन्दर्य अभिवृद्धि तथा वातावरणीय सन्तुलन कायम गर्न यस्ता अभियान प्रभावकारी हुने बताउँदै रोपिएका बिरुवाको संरक्षणमा समेत सक्रिय हुन आग्रह गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख सङ्गीता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, वडा नं. ४ का अध्यक्ष नामसिंह धामी, वडा नं. ५ का अध्यक्ष झंकरप्रसाद भाट, सामुदायिक वन उपभोक्ता महासंघ अछामका अध्यक्ष राधिका भुजेल, नगरपालिकाका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
नगरपालिकाले हरित सडक प्रवर्द्धन कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नगर क्षेत्रका अन्य सडक किनारामा समेत वृक्षारोपण विस्तार गर्ने योजना रहेको जनाएको छ।