अछाम, साउन ३ – अस्थायी ट्राफिक प्रहरी पोस्ट मङ्गलसेन, अछामको आयोजनामा आज दिउँसो १२ बजे मङ्गलसेन नगरपालिका–५ स्थित दरबार हलमा ट्राफिक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय युवायुवती, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा ट्राफिक नियमको पूर्ण पालना, ट्राफिक ऐन तथा नियम, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक चिन्ह तथा संकेतको महत्व तथा सुरक्षित सडक प्रयोगसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट मङ्गलसेनका इन्चार्ज जयहरी चन्दले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले ट्राफिक नियमको पालना गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित सडक संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
