मंगलसेन नपा १० र ११ मा योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि अनुशिक्षण सम्पन्न

योजना सम्झौता तथा कार्यान्वयन सम्वन्धि १ दिने अनुशिक्षण कार्यक्रम मंगलसेन नगरपालिका १० र ११ जुपुमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाको आयोजना तथा वडा कार्यालयहरुको समन्वयमा कार्यक्रम गरिएको हो ।


वडानम्वर ११ का अध्यक्ष डबल सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी रावलले यस्तो कार्यक्रमले नगरपालिकालाई भविष्यमा तथ्यांक राख्न सजिलो हुनुका साथै नागरिकलाई नगरपालिका धाईराख्नु पर्ने समस्याबाट सहज भएको बताउनु भयो ।
वडाका हरेक उपभोक्ताले समेत अपनत्व ग्रहण गनुपर्ने उहाँले बताउनु भयो । अनुशिक्षण कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्झौता प्रक्रिया, कार्यान्वयनमा देखिने अन्यौलताबारे प्रष्ट पारिनुका साथै सम्झौता प्रक्रिया देखी भुक्तानी प्रक्रिया सम्मका विभिन्न चरण वारे जानकारी गराईएको थियो । यस्तै अनलाईन प्रणालीबाट योजना सम्झौता र सफ्टवेयरबारे पनि जानकारी गराईएको थियो ।
नगरपालिकाको योजना शाखाका झनक अधिकारी, नन्दराज ढुंगाना र वडा नम्वर १३ का सचिव डण्डीप्रसाद ढुंगानाले सहजिकरण गर्नुभएको अनुशिक्षण कार्यक्रममा वडामा गठित सबै उपभोक्ता समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो । अनुशिक्षण कार्यक्रमको संचालन वडा सचिव दिल बहादुर बोहराले गर्नु भएको थियो ।

