धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन्। राजीनामा बुझाउन उनी प्रदेश प्रमुखको निवासमा पुगेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण नभएपछि साँझ ५ बजेका लागि बैठक सारिएको थियो। तर, ५ बजेपनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा परेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ। नागरिक उन्मुक्ति र काँग्रेसको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको थियो ।
नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह थिए। तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाह समस्यामा परेका थिए । सुदूरपश्चिममा माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी पार्टीसहितको नयाा गठबन्धनको प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ ।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ । -dineshkhabar