२०८० मा नेपाली क्रिकेटः १० वर्षपछि विश्वकपमा छनोट, पहिलोपटक भारत–पाकिस्तानसँग खेल्ने अवसर

काठमाडौं । वर्ष २०८० मा नेपाली खेलकुदमा सबैभन्दा सफल खेलमध्येको एक बन्यो, क्रिकेट । गएको वर्ष नेपाली क्रिकेटले कीर्तिमानी प्रदर्शनसहित विश्वका क्रिकेट हस्ती राष्ट्रसामु चुनौती प्रस्तुत गर्ने अवसरसमेत पायो ।

यही वर्ष नेपालले एक दशक लामो पर्खाइलाई पूर्णविराम लगाउँदै ट्वान्टी–२० विश्वकपमा छनोट भयो । पहिलो पटक एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्वकप विजेताको प्रतिद्वन्दी बन्यो ।

यही वर्ष नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको नयाँ निर्वाचनबाट पूर्वकप्तान पारस खड्का सचिवमा निर्वाचित भए ।

एसीसी प्रिमियर कप च्याम्पियन (नेपाल)

नेपालले वैशाख ५ गतेदेखि १९ गतेसम्म घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कप खेल्यो ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा भएको प्रतियोगितामा नेपालसहित कूल १० टोलीको सहभागिता थियो । विजेता टिम एसिया कप छनोट हुने प्रावधानसहित सुरु भएको यस प्रतियोगिताको उपाधिसहित नेपालले एसिया कपमा स्थान बनायो ।

नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराउँदै एसिया कप यात्रा तय गरेको थियो । प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

साउदी अरेबियाविरुद्धको तेस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराएको थियो ।

समूह ‘ए’ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले कुवेतको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाएको थियो ।

एकदिवसीय विश्वकप छनोट (जिम्बाब्वे)

जिम्बाब्वेमा असार ३ गतेदेखि २४ गतेसम्म आयोजना भएको आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले कुल ६ खेल खेल्यो ।

प्रतियोगिताको दुई खेलमा मात्र जित निकाले पनि नेपालले यहाँ जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्ड गरी तीन टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको नेपालले तेस्रो र चौथो खेलमा भने वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग क्रमशः १०१ र सात विकेटको पराजय बेहोरेको थियो । यस्तै, नेपालले सातौँ स्थान प्लेअफको सेमिफाइनलमा यूएईलाई तीन विकेटले हराए पनि फाइनल आयरल्यान्डसँग दुई विकेटले पराजित हुँदा समग्रमा आठौँ स्थान पाएको थियो ।

घरमै ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजना र विश्वकपमा छनोट

घरेलु मैदानमै सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटबाट १० वर्षपछि विश्वकपको यात्रा तय गर्नु नेपाली क्रिकेटले गत वर्ष पाएको सबैभन्दा ठूलो उपलब्धिमध्येको एक बन्यो । यस प्रतियोगितामा नेपालसँगै कुल आठ टिमको सहभागिता थियो ।

समूह ‘ए’ मा रहेको नेपालले फाइनलसम्मको यात्रा तय गरेपछि प्रतियोगिताबाट दुई टिम छनोट हुने प्रावधानअनुरुप घरेलु टिम र ओमानले विश्वकपको यात्रा तय गरेका हुन् ।

समूह चरणको खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दा र तेस्रो खेलमा भने नेपालले ओमानसँग पाँच रनको हार बेहोरेको थियो ।

समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले त्यहाँ यूएईविरुद्ध आठ विकेटको जितसहित फाइनल यात्रा तय गरेको थियो ।

फाइनलमा सुपर ओभरमा ओमानसँगै पराजित भए पनि उपविजेताको रुपमा नेपालले विश्वकपमा स्थान बनाएको हो । विश्वकपको मञ्चमा दोस्रो पटक उक्लिएको नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

बंगलादेशमा भएको विश्वकपको उक्त संस्करणमा नेपालले समूह चरणका तीनमध्ये दुई खेलमा जित निकालेको थियो ।

यू–१९ प्रिमियर कप च्याम्पियन

मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेपछि नेपाली युवा टिमले पनि गत वर्ष एसिया कपमा प्रतिस्पर्धा गर्यो ।

फाइनलमा यूएईविरुद्ध १९ रनको जितपछि नेपालले युवा एसिया कपमा स्थान बनाएको थियो । मलेसियाको बायुमस ओभलमा भएको फाइनलमा नेपालले कप्तान देव खनालको शतकमा २८० रन बनाएपछि यूएईले २८१ रनको विशाल लक्ष्य पाएको थियो । तर, वर्षाका कारण यूएईले २७ ओभरमा १९८ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा यूएईले २६.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाएपछि नेपालले युवा एसिया कपमा स्थान निश्चित गरेको थियो । त्यसअघि समूह ‘ए’ मा रहेको नेपालले अपराजित रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

अन्तिम चारको खेलमा भने नेपालले जापानविरुद्ध डीएलएस पद्दतिमा १४३ रनको फराकिलो जित निकालेको थियो । यस प्रतियोगिताबाट नेपालसँगै उपविजेता यूएई र तेस्रो भएको जापानले एसिया कपमा स्थान बनाएका थिए ।

यू–१९ एसिया कप

प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट भएको नेपाली युवा टिमले एसियाका टेस्ट राष्ट्रविरुद्ध भने उल्लेखनीय प्रदर्शन देखाउन सकेन ।

पाकिस्तानमा हुने तालिका रहे पनि पछि यूएईमा सरेको प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा थियो । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग नेपाल सात विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ७३ रनको हार बेहोरेको नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो ।

यू–१९ विश्वकप

Everest Incitute

नेपाली यूवा टिमले वर्ष २०८० मा आठ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा चुनौती प्रस्तुत गर्‍यो ।

विश्वकप छनोटको फाइनलमा यूएईविरुद्ध सात रनको नाटकीय जित निकालेपछि नेपाल सन् २०१६ पछि युवा विश्वकपको मञ्चमा उक्लिएको थियो । उक्त फाइनलमा यूएईलाई जितका लागि ११ रन आवश्यक हुँदा नेपालका दीपेश कंडेलले ह्याट्रिक लिँदै नेपाललाई सनसनीपूर्ण जित दिलाएका थिए ।

दक्षिण अफ्रिकामा भएको विश्वकपमा नेपालले सुपर सिक्ससम्मको यात्रा तय गर्‍यो । प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले तीन खेलमध्ये एक खेलमा जित निकाल्दै सुपर सिक्सको यात्रा तय गरेको थियो ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

तर, सुपर सिक्समा भने नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन । सुपर सिक्समा भने नेपाल बंगलादेशसँग पाँच विकेटले र दोस्रो खेलमा भारतविरुद्ध १३२ रनले पराजित भएको थियो ।

महिला टिम एसिया कपमा छनोट

महिला क्रिकेटले पनि यस वर्ष केही उल्लेखनीय सफलता हात पारे । त्यही सफलतामध्यको एक हो, एसिया कपमा छनोट । एसीसीले मलेसियामा माघ २७ गतेदेखि फागुन ६ गतेसम्म भएको एसीसी वुमन्स प्रिमियर कपको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रवाधान राखेको थियो ।

प्रतियोगितामा सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए ।

तर, चैत १३ गते एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पुर्‍याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका नेपाल र थाइल्यान्ड एसिया कपमा भएका हुन् ।

प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई मलेसियाले हराउँदा यूएईले थाइल्यान्डलाई हराएको थियो । महिला एसिया कपको नवौँ संस्करण श्रीलंकामा हुने तय भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र यूएई समूह ‘ए’ मा छन् । यस्तै, समूह ‘बी’ मा मलेसिया, बंगलादेश, श्रीलंका र थाइल्यान्ड छन् ।

महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सविरुद्ध नेपालले कीर्तिमानी जित निकालेको थियो । मलेसियाको बांगीमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रन बनाएको थियो ।

जवाफी ब्याटिङका क्रममा माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालले २१४ रनको कीर्तिमानी जित निकालेको थियो । अन्तर्राष्ट्रिय ट्वान्टी–२० महिला क्रिकेटमा यो नै सबैभन्दा फराकिलो रनअन्तरको जित हो ।

यस्तै, नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि यही हो । नेपालले सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको थियो ।

एसियन गेम्समा कीर्तिमान

चीनको हाङझाउ सहरमा सम्पन्न एसियाली खेलकुदको क्रिकेटतर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमले कीर्तिमानी प्रदर्शनसहित क्वार्टरफाइनलसम्मको यात्रा तय ग¥यो ।

ट्वान्टी–२० संरचनामा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमै मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनायो ।

नेपालले मंगोलियाविरुद्ध बनाएको यो स्कोर ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठूलो योगफल हो । यस खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक बनाउँदै अर्को कीर्तिमान बनाए ।

दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बने । यस्तै, यही खेलमा नेपालका कुशल मल्ल ३४ बलमा शतकसहित सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर बनेका थिए ।

तर, पछि नामिबियाका लोफ्टी इटोनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै कुशलको यो कीर्तिमान तोडे ।

एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको अर्को कीर्तिमानी जित निकाल्यो । ट्वान्टी–२० क्रिकेटमा यो नै अहिलेसम्मको सबैभन्दा फराकिलो (रनआधारमा) जित हो ।

क्यानको कार्यसमितिमा पारस खड्काको आगमन

असोज ६ गते काठमाडौंको एभरेष्ट होटलमा भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय निर्वाचनबाट नेपाली क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका पारस खड्का सचिव पदमा निर्वाचित भए ।

पारस काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै केन्द्रिय सचिवमा निर्वाचित भएका हुन् । यस निर्वाचनबाट अध्यक्षमा चतुरबहादुर चन्दले निरन्तरता पाँउदा उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र सचिवमा पारस निर्वाचित भएका थिए ।

विवाद र नयाँ अध्याय

सचिवमा पदमा निर्वाचित भएको केही समयपछि नै पारस विवादमा तानिए । पारसले क्यानको जनरल म्यानेजरमा निजी स्वार्थमा आफू आवद्ध पूर्व संस्थाका व्यक्ति नियुक्त गरेको भन्दै जीएमका आवेदकको एक समूहले असन्तुष्ट जनाए ।

आवेदकको उक्त समूहले क्यानलाई निर्णय नसच्याए अदालतमा रिट दायर गर्ने ७२ घण्टे अल्टिमेटम समेत दिएका थिए । तर, हालसम्म सर्वोच्चमा पारस र क्यानविरुद्ध जीएम नियुक्तका बारेमा रिट भने परेको छैन ।

क्यानले गएको वर्ष इतिहासमै पहिलो पटक वार्षिक क्यालेन्डरसमेत सार्वजनिक गर्दै नेपाली क्रिकेटमा नयाँ अध्यायको सुरुआत गरेको थियो ।

पहिलो पटक ‘ए’ टिम, पहिलो शृंखला क्यानडा–११ विरुद्ध

गएको वर्ष नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक नेपाल ‘ए’ टिमको घोषणा भयो । विनोद भण्डारीको कप्तानीमा घोषित नेपाल ‘ए’ ले पहिलो पटक क्यानडा–११ विरुद्ध तीन खेलको ऐतिहासिक क्रिकेट शृंखला समेत खेल्यो ।क्यानाडा–११ विरुद्धको उक्त शृंखला नेपालले २–१ ले गुमाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो चार दशकदेखि प्रतिस्पर्धा गरिरहेको नेपालले त्यसअघि ‘ए’ टिम बनाएको थियो ।

-barakhari

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.