शैक्षिक सुधारका लागि ने.रा. मावि चाफामाण्डाै द्वारा नयाँ शैली अवलम्वनः अभिभावकलाई पठाईयो – धन्यवाद, जानकारी र ध्यानाकर्षण पत्र

रामारोशन गाउँपालिका वडानम्वर – २ मा रहेकाे नेरा मावि चाफामाण्डाैले शैक्षिक सुधारका लागि नयाँ शैली अवलम्बन गरेकाे छ । विद्यार्थीका अभिभावकलाई लिखित रुपमा धन्यवाद पत्र, जानकारी पत्र र ध्यानाकर्षण पत्र पठाउदै विद्यार्थीको अवस्था बारे बताउन थालेको हाे ।

जेठ १ गते वैशाख महिनाको विद्यार्थीकाे हाजिरी रिपोर्ट अनुसार अभिभावकलाई पत्र लेख्दै विद्यालयले पढाईबारे अवगत गराईएकाे छ । प्रधानाध्यापक मनाेज रावल र कक्षा शिक्षकले हस्ताक्षर गरिएको धन्यवाद पत्रमा नियमित उपस्थित हुने विद्यार्थीका अभिभावकलाई सन्देश लेखिएको छ । जसमा भनियकाे छ – “तपाईंको छाेरी ‘प्रगति’ याे महिना कक्षा संचालन भएका २३ दिन मध्ये २२ दिन हाजिर भएकोले तपाईंलाई धन्यवाद सहित याे पत्र पठाईएकाे छ । तपाईंको छाेरीलाई जसरी विद्यालय नियमित पठाउनुभयाे त्यसैगरी तपाईंको टाेल छिमेकका विद्यालयमा कम उपस्थित हुने बालवालिकाका आमाबुबाहरुलाई सम्झाउनुहाेला, जसले गर्दा उहाँहरुले आफ्ना छाेराछाेरीहरुलाई नियमित विद्यालय पठाउन सहयाेग पुग्नेछ ।”
यस्तै विद्यालयले अभिभावकलाई जानकारी पत्र पठाउदै लेखेकाे छ – “तपाईंको छाेरा ‘विकास’ याे महिना कक्षा संचालन भएका २३ दिन मध्ये १५ दिन हाजिर भएकोले तपाईंलाई धन्यवाद सहित याे पत्र पठाईएकाे छ । तपाईंको छाेराकाे याे महिनाकाे हाजिर सन्ताेषजनक भए पनि याे महिना तपाईंको छाेराकाे ८ दिन पढाइ छुटेकोले अवदेखि नियमित विद्यालय पठाउनुहाेला ।”

यसैगरी विद्यालयले अभिभावकलाई ध्यानाकर्षण पत्र पनि पठाएको छ । ध्यानाकर्षण पत्रमा यस्तो भनियकाे छ – “तपाईंको छाेरी ‘सिर्जना’ याे महिना कक्षा संचालन भएको ३२ दिन मध्ये १० दिन हाजिर भएकोले तपाईंलाई याे ध्यानाकर्षण पत्र पठाईएकाे छ । निरन्तरकाे अनुपस्थितिले तपाईंको छाेरीकाे पढाइ बिग्रिने देखिन्छ । तपाईंले नियमित रुपमा विद्यालय पठानु भएन भने पढाइ अझै बिग्रीदै जानेछ । अवदेखि तपाईंको छाेरीलाई नियमित रुपमा विद्यालय पठाउनुहाेला ।”
विद्यार्थीलाई अनुपस्थिति दरमा कमी ल्याँउने र शैक्षीक क्षती न्यूनिकरण गर्ने उदेश्यले अभिभावकलाई बढी जिम्मेवार बनाउनका लागि याे शैली अवलम्बन गरिएको विद्यालयका प्रधानाध्यापक मनाेज रावलले बताउनुभयो । शैक्षिक सत्रकाे सुरुवातबाटै यसरी हरेक महिना अभिभावकलाई पत्र पठाएर जानकारी गराईने भन्दै उहाँले यसबाट विद्यालयको शैक्षिक अवस्था सुधार गर्नमा टेवा पुग्ने र विद्यालय तथा विद्यार्थी प्रति अभिभावकलाई जिम्मेवारीबाेध गराउने प्रधानाध्यापक रावलकाे विश्वास छ ।
“हामीले सवै कक्षामा वैशाख महिनाको कक्षामा उपस्थितिका आधारमा अभिभावकलाई जानकारी पठायौं, यो कार्यक्रम अव नियमित रुपमा संचालन हुनेछ ।” – प्रधानाध्यापक रावलले भन्नुभयो । साथै वैशाख महिनामा सत प्रतिशत नियमित हाजिर हुने विद्यार्थिलाई मंगलबार बिहान प्राथनाको समयमा Hiro of the Month को उपमाबाट सम्मानीत समेत गरिएको उहाँले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा १० सम्म ४३८ जना अध्ययनरत छन भने कक्षा ११ र १२ का समेत जोडदा ५७२ जनाले अध्ययन गरिरहेका छन ।


