टी–२० विश्वकप : युवा टोलीबाट अद्भूत प्रदर्शनको आशा

२२ जेठ, अमेरिका । सन् २०१४ को टी–२० विश्वकपमा डेब्यू गरेपछि नेपाली क्रिकेटमा लोकप्रियता चुलियो ।

बंगलादेशमा सम्पन्न उक्त विश्वकपमा नेपालले समूह चरणमा हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रनले हराउँदा बंगलादेशसँग ८ विकेटले हारेको थियो । समान ४/४ अंक भएपनि नेट रनरेटमा नेपाललाई उछिन्दै बंगलादेश अघिल्लो चरणमा पुगेको थियो ।

अघिल्लो चरणमा पुग्न नसकेपछि डेब्यू विश्वकपमा शानदार प्रदर्शनसँगै नेपाललाई उदाउँदो एसोसिएट शक्तिका रुपमा हेर्न थालियो । तर २०१५ को विश्वकप छनोटमा कमजोर प्रदर्शन गर्दै नेपाल ग्लोबल छनोटबाटै बाहिरियो ।

त्यसपछि नेपालले विश्वकपमा पुग्न निक्कै संघर्ष गर्नुपर्‍यो । एसिया र ग्लोबल छनोट भन्दा माथि जान सकेन । यद्यपि २०१८ मा ओडीआई मान्यता जोगाएका कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट भने खेलिरह्यो ।

नेपालको युवा पुस्ताले लिग २ मा अन्तिम १२ मध्ये ११ खेल जित्दै ओडीआई मान्यता कायम राख्यो । २०२३ मा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप छनोट एसिया सेमिफाइनलमा यूएईलाई हराएपछि नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्ने पक्का भयो ।

मंगलबार राति ८ : ४५ मा नेदरल्यान्ड्सविरुद्ध अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेल टसका लागि जानेछन् । र, खेलमा नेपालको एकमात्र लक्ष्य जित हुनेछ ।

२०१४ मा विश्वकप खेलेका तीव्र गतिका बलर सोमपाल कामी मात्रै यस पटक टोलीमा छन्, बाँकी सबै खेलाडीको पहिलो विश्वकप हुनेछ । १५ सदस्य नेपालको टोलीमा करण केसी (३२) मात्रै ३० वर्ष कटेका खेलाडी हुन् । ९ खेलाडीको उमेर २५ वर्षभन्दा पनि कम छ ।

Everest Incitute

रोहित सर्वाधिक कान्छा (२१ वर्ष २४२ दिन ) कप्तान हुन् । उनीपछि अफगानिस्तानका कप्तान राशिद खान २५ वर्ष २२४ दिनका छन् ।

प्रमुख अलराउण्डर दीपेन्द्रसिंह ऐरी २४ वर्षका भए । विश्वकप २०२४ को सबैभन्दा कम उमेरका खेलाडी नेपालकै गुल्सन झा हुन् । गुल्शन १८ वर्ष १०९ दिन भएका छन् । प्रतिश जिसी २० वर्षका भए ।

नेपालको अबको लक्ष्य आगामी दशकमा टेस्ट मान्यता पाउनु र एकदिवसीय विश्वकप खेल्नु हो । टेस्ट मान्यता साकार पार्न विश्वकपमा शानदार प्रदर्शनसँगै ठूला टोलीलाई हराउन अबदेखि नै सुरु गर्नुपर्छ ।

नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा सुरुआत गरेको थियो । पहिलो कप्तान उत्तम कर्माचार्य थिए, पारस खड्काले २००९ देखि २०१९ कप्तानी गर्दा नेपाली क्रिकेटले ठूलो फड्को मार्‍यो । डिभिजन फाइभदेखि थ्रीको उपाधि जित्यो, २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्यो, २०१८ मा ऐतिहासिक ओडीआई मान्यता पायो । यो सफलताको यात्रामा पारससँगै ज्ञानेन्द्र मल्ल शरद भेषावकर, शक्ति गौचन र वसन्त रेग्मीहरु एकै रथका पांग्रा थिए ।

नेपालले पहिलो पटक विश्वकप खेल्दाको माहौलले नै रोहितहरुलाई क्रिकेटतिर तानेको थियो । ‘२०१४ को क्रिकेट हेर्दाको वातावरण म कल्पना गर्न सक्छु, रोहितले भने, ‘अहिले हामी आफैं विश्वकप खेल्ने सपना पूरा गर्दैर्छौं । हामी उत्कृष्ट क्रिकेट खेल्न सक्छौं, नेपाललाई गर्व महसुस गराउन सक्छौं ।’

टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा अन्य चार टोली नेपालभन्दा बलिया हुन् । तर टी–२० क्रिकेटमा कुनै पनि टोलीले अर्कोलाई हराउन सक्छ । त्यसमाथि पनि पहिलो खेल नेदरल्याण्ड्ससँग भएकाले नेपाल उत्साहित छ । ‘पहिलो खेल जित्न सक्यौं भने मोमेन्टम बन्छ, डग आउटमा विश्वास आउँछ’, रोहितले भने ।

पछिल्लो डेढ वर्ष लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त रहेको नेपालको निरन्तर एकै टोली, युवा जोश, फिटनेसमा सुधार र उच्च मनोबल सकरात्मक पक्ष हुन् । विदेशी भूमिमा कमजोर प्रदर्शन, ओपनरको खराब लय र डेथ ओभरमा खराब बलिङ नेपालका कमजोर पक्ष हुन् । -Onlinekhabar

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.