
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल अछाममा ३ जना डाक्टर खटाएको छ । नेपाल सरकारको छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययन पुरा गरि पासआउट भएका ३ जना डाक्टरलाई नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको समन्वयमा जिल्ला अस्पताल अछाममा खटाईएको हो ।
जिल्ला अस्पताल अछामका लागि खटाईएका डाक्टरहरुमा डा. कृष्ण बहादुर सोडारी, डा. अधि राज आचार्य र डा. सुजन मिजार रहेका छन । उनिहरुले २ वर्षसम्म ग्रामिण क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधान अनुरुप जिल्ला अस्पताल अछाममा खटाईएको जनाईएको छ । जिल्ला अस्पताल अछाममा डाक्टरको अभाव पूर्ति संगै स्वास्थ्य सेवा सहजताका लागि डाक्टरहरुलाई खटाईएको प्रदेश जलश्रोत तथा सहरी विकास मन्त्रीको सचिवालयबाट जानकारी दिईएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र जलश्रोत तथा सहरी विकास मन्त्री अक्कल बहादुर रावललले जिल्ला अस्पताल अछामलाई प्राथमिकतामा राखि सो कार्य गरेको जनाईएको छ ।
आफुहरु तिनैजना बुधबार जिल्ला अस्पताल अछाममा हाजिर भई भईसकेको डा. कृष्ण बहादुर सोडारीले जानकारी दिनुभयो ।
