मंगलसेन नगरपालिकाद्धारा आ.व. २०८०/८१ को वार्षिक समिक्षा, विगतका वर्षहरु भन्दा समग्र सेवाप्रवाह व्यवस्थित हुदै गएकोः नगर प्रमुख बोहरा

मंगलसेन नगरपालिकाको गत आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहिबारबाट सुरु भएको समिक्षा कार्यक्रममा २ दिनसम्म शाखागत र वडागत रुपमा वार्षिक कामकार्यको विस्तृत समिक्षा गरिएको हो ।

समिक्षा कार्यक्रममा सवै वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरू समक्ष सम्पुर्ण बिषयगत शाखाहरूबाट शाखा प्रमुख र वडाहरुबाट वडा सचिवले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हरेक शाखा र वडागत प्रगति प्रतिवेदन माथि समिक्षात्मक छलफल तथा सुझाव पेश गर्दै सुधारका लागि आवश्यक निर्देशन समेत दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । एक बर्षको अवधिमा नगरपालिका मार्फत भएका सबै गतिविधिको गम्भिर रुपमा छलफल गरि आगामी दिनमा थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा सबैभन्दा बढि छलफल केन्द्रित भएको उहाँले बताउनुभयो ।

समिक्षा कार्य्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख पदम बहादुर बोहराले विगतका वर्षहरु भन्दा समग्र सेवाप्रवाह व्यवस्थित हुदै गएको कुरा प्रगति समिक्षा प्रतिवेदनबाट झल्किएको बताउनुभयो । सवै कर्मचारी युवा नै भएकोले प्रभावकारी सेवा प्रवाहका लागि सवै प्रतिवद्ध हुनुपर्ने उहाँको भनाई थियो । अन्तर शाखा र अन्तर वडा सिकाई आदान प्रदान गर्दै आगामी दिनमा थप सुधारमा सवैले जोड दिन नगर प्रमुख बोहराको आग्रह छ ।
यस्तै समिक्षा कार्यक्रमको समापनमा बोल्दै नगर उपप्रमुख संगिता कुमारी रावलले वडागत र शाखागत रुपमा वर्षभरि गरिएको कामकार्यकाे समिक्षाबाट आगामी दिनमा थप प्रभावकारी बनाउन सहज हुने भन्दै विकास निर्माण र खरिद कार्यहरुकाे अनुगमनलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । यस्तै वडा अध्यक्षहरुकाे तर्फबाट वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटीले विगत वर्ष भन्दा सेवा प्रवाह व्यवस्थित भएको भन्दै आगामी वर्ष थप सुधारका लागि सवै अग्रसर हुनुपर्नेमा जाेड दिनुभयो ।
समिक्षा कार्यक्रममा उठेका जिज्ञासाको समाधान तथा सुझाव ग्रहण र समग्र कार्यक्रमको सहजिकरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।


