कमल सावद:
धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन् । प्रदेशका नौवटै जिल्लामा दशै, तिहार र छठको समयमा भने थप चार हजार प्रहरी परिचालन गरिने भएको छ । सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिने भएको हो। यसका लागि प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले नागरिकको सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए। उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ । जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ। कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ। बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ ।’
दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ । प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ । नौवटा जिल्लास्तरको कमाण्ड पोस्टमा ९९ जना प्रहरी, रिजभमा २०६ जना, एक सय ६० जना स्ट्राइफिङमा, पाँच सय ५३ वटा पिकेटहरु, पैदल गस्ती र मोबाइल गस्तीमा पाँच सय ९९ जना, मोबाइल गस्तीमा २५० जना, सादापोसाक, सीमा नाकाका चेकपोस्टमा दुई सय ६५ जना, राजमार्ग चेकिङ्, जुवातास, मदिरा र लागुऔषध नियन्त्रणमा २५० जना, राजमार्गमा स्टटिङ्गका लागि २५० जना नियमित चेकजाँचका लागि यथावत छन् ।
प्रदेश प्रहरी प्रमुख केसीले ट्राफिक प्रहरीहरुसँगको संयुक्त चेकिङ्गसमेत हुने बताए । उनले भने, ‘सुरक्षा चुनौतिहरुलाई विश्लेषण गरेका छौ। सुरक्षा चुनौतिहरुका लागि जनशक्ति परिचालन गरेका छौ । नियमित परिचालन हुने प्रहरीमा चार हजार थपेका छौ ।’ सुदूरपश्चिममा रहेको विपद व्यवस्थापन गणका २ सय कर्मचारीबाहेक अन्य क्षेत्रका प्रहरीहरु परिचालन गरिएको छ । प्रदेश प्रहरीले २ सय कर्मचारी, नेपाल प्रहरी विषेश सुरक्षा गण, प्रदेश सशस्त्र गण लगायत कार्यालयमा रहेका प्रहरी कर्मचारीहरुलाई नगरिकको सुरक्षामा खटाइएको छ ।
उनीहरुले नेपाल–भारतको सीमा क्षेत्रदेखि ग्रामीण वस्तीका नागरिकको घर–दैलोसम्मै सुरक्षा दिने प्रदेश प्रहरीले बताएको छ । प्रदेश प्रहरी प्रमुख केसीले चाडपर्व ढुक्कका साथ मनाउन आग्रह समेत गरेका छन्। तर, नागरिकस्तरबाट हुने सहयोग गर्न उनी बताउँछन् । साथै चाडपर्वको समयमा कुनै पनि नागरिकलाई असुरक्षाको अनुभुति नहोस भनेर थप प्रहरी परिचालन गरिएको उनले बताएका छन् । -dineshkhabar