नुन खाँदा तपाईँको शरीरमा के-के हुन्छ?

हामीमध्ये धेरैले आवश्यकताभन्दा बढी नुन प्रयोग गर्छौं

Kirci Gyan Kendra

नुनले खानालाई स्वादिलो बनाउँछ। मानव जीवनका लागि यो अत्यावश्यक छ ।

Samajik New Add 2082

नुनमा पाइने सोडियम शरीरमा पानीको उपयुक्त मात्रा कायम राख्न महत्वपूर्ण हुन्छ। यसले शरीरका कोषहरूलाई पोषकतत्व सोसेर लिन मद्दत गर्छ। बीबीसीको विश्व सेवाको कार्यक्रम ‘द फूड चेन’ले मानव शरीरमा नुनले खेल्ने महत्त्वपूर्ण भूमिका र कति मात्रा नुन हाम्रा लागि अधिक हुन्छ भन्ने थाहा पाउने कोसिस गरेको छ।
नुनको महत्त्व

“जीवनका लागि नुन अपरिहार्य छ,” संयुक्त राज्य अमेरिकास्थित रटगर्ज विश्वविद्यालयमा पोषण विज्ञानका प्राध्यापक पल ब्रेजलिनभन्छन्।

“नुन विशेषगरी विद्युतीय रूपमा सक्रिय कोषहरूका लागि महत्त्वपूर्ण छ। त्यस्ता कोषहरूमा हाम्रा सबै न्यूरोनहरू, मस्तिष्क, मेरुदण्ड र सबै मांसपेशी पर्छन्। यो छाला र हड्डीका लागि पनि नभई नहुने कुरा हो।”

उनी हाम्रो शरीरमा पर्याप्त सोडियम भएन भने हामी मर्छौँ भन्ने चेतावनी समेत दिन्छन्।

सोडियमको कमीले हाइपोनेट्रिमिया हुन सक्छ। त्यसले भ्रमित हुने, दिग्दार लाग्ने, बान्ता आउने, काम्ने र कोमामा पुग्ने अवस्था पनि निम्त्याउन सक्छ।

नुनको दैनिक मात्रा कति?

विश्व स्वास्थ्य सङ्गठन, डब्लूएचओले दैनिक पाँच ग्राम नुन खानका लागि सिफारिस गरेको छ र त्यसमा दुई ग्राम सोडियम हुन्छ। त्यो भनेको झन्डै एक चिया चम्चा बराबरको नुन हो।

विश्वव्यापी औसत दैनिक प्रतिव्यक्ति नुन खपत भने करिब ११ ग्राम रहेको छ।

त्यसले मुटुरोग, पेटको क्यान्सर, मोटोपन, हाड कमजोर हुने अवस्था र मिर्गौलासम्बन्धी रोगहरू बढाउन सक्छ।

डब्लूएचओको अनुमानमा अधिक नुन सेवका कारण हरेक वर्ष विश्वमा १८ लाख ९० हजार मानिसको मृत्यु हुने गर्छ।
प्रमुख नुन खपतकर्ता

धेरै देशमा प्रशोधित खाद्य पदार्थमा थाहै नहुने गरी प्रयोग गरिएको अधिक मात्राको नुन खपत भइरहेको हुन्छ।

तर नुन खपतका ऐतिहासिक कारण पनि हुन सक्छन्। काजाकस्तानका मानिसहरू प्रतिदिन प्रतिव्यक्ति १७ ग्राम नुन खपत गर्छन्। त्यो भनेको तोकिएको मात्राको तीन गुणाभन्दा बढी हो।

मरियम उक्त देशको राजधानी अस्तानामा बस्छिन्।

“यो हाम्रो परम्पराका कारण हो,” उनी भन्छिन्, “शताब्दीयौँसम्म हामीले नुन प्रयोग गरेर जोगाउनुपर्ने धेरै मासु बोकेर घाँसे मैदान पार गर्‍यौँ।”

“परिवारहरूले जाडोका लागि भण्डारण गर्छन्। उनीहरूले सिङ्गै गाई, भेडा र आधा घोडा पनि जोगाएर राख्न सक्छन्।”

आठ वर्षअघि मरियमकी छोरीको स्वास्थ्यमा केही समस्या आयो।

चिकित्सकले उनलाई चिनी, बोसो र नुन बढी भएका खानेकुरा कम गर्न सल्लाह दिए। परिवारले तुरुन्तै उनीहरूको खानामा नुन थप्न बन्द गरे।

उनले भनिन्, “अर्को दिन हामीले नयाँ खाने कुरा सुरु गर्दा त्यसको स्वाद नमिठो थियो।”

तर त्यो नमिठो लामो समयसम्म रहेन। मरियमको परिवार नुन नथपिएको खानेकुरामा अभ्यस्त हुँदै गयो।

काजाकस्तानका मानिसहरू जाडोमा मासु सुरक्षित राख्न नुनको अत्यधिक प्रयोग गर्छन्

नुनप्रति हाम्रो शरीरले कसरी प्रतिक्रिया दिन्छ?

Saud Agro Kailash

हामीले नुन खाँदा जिब्रो र घाँटीका स्वाद थाहा पाउने कोशिकाले त्यसलाई चिन्छन्।

प्राध्यापक ब्रेजलिन भन्छन्, “नुनले हाम्रो शरीर र दिमागलाई तरङ्गित बनाउँछ।”

“नुनका क्रिस्टलमा रहेका सोडियम आयोनहरू तपाईँको र्‍यालमा घुल्छन्।”

ती आयोनहरूले स्वाद कोशिकाहरूलाई सीधै क्रियाशील बनाउँछन्।

उनले भने, “यसले सामान्य खाले झमझम उत्पन्न गर्छ।”

नुनले विद्युतीय सन्देशहरू प्रवाह गर्छ र हाम्रो शरीर एवं दिमाग त्यसबाट उत्साहित हुन्छ।
मरियम काजाकस्तानका मानिसहरूले परम्परागत रूपमै धेरै नुन प्रयोग गर्ने गरेको बताउँछिन्

कति नुन धेरै हो?

कुनै पनि व्यक्तिको आनुवंशिक अवस्था कस्तो छ भन्नेमा कति नुनले कस्तो असर पार्छ भन्ने कुरा निर्भर गर्छ।

विश्वभरि एक अर्ब भन्दा बढी मानिसहरू उच्च रक्तचापबाट पीडित छन्। नुनको सेवन कम गर्दा यसको रोकथाम र उपचारमा मद्दत पुग्न सक्छ।

अस्ट्रेलियाको न्यूकाशल विश्वविद्यालयकी पोषण तथा आहाराशास्त्रकी प्राध्यापक क्लेयर कोलिन्स भन्छिन्, “तपाईँले धेरै नुन खाएपछि तपाईँको शरीरले गर्ने पहिलो काम भनेको त्यसलाई पातलो पार्ने हो। तपाईँको शरीरले पानीलाई राखिराख्छ त्यसले गर्दा अन्य खालका तरल कुरा तान्न बल पर्दा रक्तचाप उच्च हुन्छ।” त्यसका परिणाम घातक हुन पनि सक्छन्।

उनी भन्छिन्, “यदि तपाईँका रक्तनलीहरू मस्तिष्कमा हुने जस्तै कमजोर छन् भने उनीहरू फुट्छन् र त्यसले तपाईँलाई आघात उत्पन्न पनि हुन सक्छ।”

यूकेमा नुनको खपत औसतमा प्रतिव्यक्ति प्रतिदिन आठ ग्राममा झरेको छ तर अझै पनि त्यो सिफारिस गरिएको दैनिक ५ ग्रामभन्दा बढी हो।

खानेकुरा उत्पादकहरूले खानामा नुनको मात्रा घटाउनु पर्ने बाध्यकारी नियमनको व्यवस्थाले नुनको खपत कम गर्न सहयोग गरेको हो।

देशअनुसार कति नुन खाने भनेर गरिएको सिफारिस भिन्नभिन्न छ। पिसाब परीक्षणबाट तपाईँको शरीरमा नुनको मात्रा बढी छ कि कम छ भन्ने थाहा पाउन सकिन्छ।

आफूले खपत गर्ने नुनको मात्रा जाँच्नका लागि एउटा खानाको डायरी राख्ने वा खानेकुरामा विभिन्न तत्त्वको विवरण उल्लेख गरिएको जानकारीमा उल्लेख भएको सोडियमको मात्रालाई हिसाब गर्ने एप पनि प्रयोग गर्न सकिन्छ।

प्राध्यापक कोलिन्स कुनै पनि उपायले जस्ताको त्यस्तै अवस्था नदेखाउने तर सङ्केत प्राप्त गर्नका लागि सहयोगी हुनसक्ने बताउँछिन्।
काजाकस्तानको राष्ट्रिय परिकार बेश्बार्माक

नुन कम गर्ने उपाय

नुनको मात्रा बढी भइरहेको थाहा हुँदाहुँदै पनि तपाईँ त्यसलाई सजिलै कम गर्न सक्नु हुन्न।

अस्तानाकी मरियम उनको देशको राष्ट्रिय परिकार बेश्बार्माकलाई बेवास्ता गर्न अझै सङ्घर्षरत छिन्। उक्त परिकार उसिनेको मासुलाई पास्तासँग मिलाएर पकाइन्छ।

उनका वृद्ध अवस्थाका अभिभावकहरू पनि नुनको घातक परिणाम थाहा हुँदाहुँदै पनि त्यसलाई छाड्न खासै चाहँदैनन्।

प्राध्यापक कोलिन्स पनि नुनको मात्रा कम भएका पाउरोटी र पास्ताहरू खोज्न आग्रह गर्छिन्।

उनी भन्छिन्, “यदि तपाईँ आफै खाना पकाइरहनु भएको छ भने त्यसमा नुनको साटो मसलाहरू प्रयोग गर्नुहोस्।”

– बीबीसी न्यूज नेपाली

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.