
होम साउद, अछाम ५ पौषः

अछाम मंगलसेन नगरपालिका ११ खिमाडाका पूर्ण बन्धन भण्डारी हाल कोपनहेगन डेनमार्कमा स्थायी रुपमा वसोवास गर्छन । विगत १६ वर्षदेखि डेनमार्क बसिरहेका भण्डारी हाल अछामी बानादारी शोभायात्राका लागि अछाम आईपुगेका छन ।
गाउँमै प्रारम्भिक शिक्षा हाँसिल गरेका भण्डारी उच्च शिक्षा नेपालगंज अध्ययन गरे र त्यसपछिका दिनहरुमा नेपालगंज तथा काठमाण्डौमा पत्रकारीता र व्यवसायिक कार्यमा व्यस्त रहे । यहि पौष ९ गते आफ्नो ६० औं जन्मदिन गाउँकै सरस्वती आधारभूत विद्यालयमा गाउँलेलाई खिर खुवाएर मनाउने योजना बनाएका छन भण्डारीले ।
कला साहित्यका पारखी रहेका उनी अछामको प्रख्यात र ऐतिहासिक पञ्चेबाजा (पणछो) सहित बानादारी कलाकारहरुलाई शोभायात्रा गराउने अभियान लिएर अछाम पुगेका छन । यहि पौष २९ गते च्याल्तारको रातीलाई विशेष र मौलिक तथा ऐतिहासिक बनाउने उनको योजना छ । सामाजिक सञ्जाल फेसबुक मार्फत ईभेन्ट ग्रप बनाएर एक वर्ष अघिबाटै आफुले अछामी बनादारी शोभायात्रा -२०८१ को तयारी गरेको उनले बताए ।
के हो अछामी बानादारी शोभायात्रा -२०८१ ?

भण्डारीको भनाईमा यो ईभेन्ट अछाम घर भै संसारभरी विभिन्न पेशा तथा व्यवसाय गरेर बसेका, अछामी तथा सुदूर-पश्चिम क्षेत्रका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई भेला गर्ने गराउने एक वृहत “बहाना-महोत्सव” हो । उनले भने – “यसको स्वरूप बिवाहको जन्ती आए जस्तो “जन्तेपाईलामा” हुनेछ । जन्तीको रूपमा सहभागीहरूलाई लामवद्ध भएर, करिब ५० पुरूष तथा महिला बानादारी कलाकारहरूले पड्छ गर्ने उक्त महोत्सव, खिमाडा नपुग्दासम्म जन्ते पाईलामा, बिस्तीरै हिंडाउंदै, (विभिन्न गाउंहरुबाट, जस्तैः कुन्तिवण्डाली, मंगलसेन, वलिगाउं, पटकानीबाट जुपू, बल्डांडा, ठाना हुंदै खिमाडा सिम्लेरूख नौलो खौलासम्म) पुग्नेछ ।”
पुष २९ गतेको दिउसो बानादारी कलाकारको सोभायात्रा र पड्छो लगाउने र सोहि दिन न्याउल्या-डेउडा खेल लाउने कार्यक्रम रहेको भण्डारीको भनाई छ । उक्त खेलमा चीरपरिचित कवि तथा डेउडा गायक राईझूमाका सर्जक यज्ञराज उपाध्याय, कलाकार ईव्सल सञ्ज्याल, कवि कर्ण बहादुर थापा लगायतको सहभागीता रहने जनाईएको छ ।
“यो महोत्सव हरेक वर्ष त्यसरी नै आयोजना गरिने परिकल्पनाका साथ देश, समाज, कला संस्कृति र खानपिनको बिकास र बिस्तार गर्ने गराउने एक ऐतिहांसिक पर्वका रूपमा मनाईने छ ।” – भण्डारीले भने । महोत्सवको निरन्तरता र स्थायित्वका लागि ५० लाखको अक्षय कोष स्थापना गरिने भन्दै उहाँले यस कोषका लागि सर्वप्रथम आफ्नो तर्फबाट १ लाख ११ हजार दान घोषणा गरेको बताउनुभयो ।
हरेक वर्ष च्याल्त्यारको अवसरमा गरिने यस बानादारी शोभायात्राको अवसरमा गिठा भ्याक्कूर, तरूल, मास्चाम्ल्या रोटा, कोद्याका रोटा रे घ्यू, घोगाका रोटा, कापू भात, पिनापानी भात, फांडो भात, घोगाको रागा रे मैई, बेच्ने स्टलहरू पनि राख्न सकिने अभियानका परिकल्पनाकार भण्डारी बताउँछन ।
यसका साथै पूर्ण बन्धन भण्डारीले खिमाडालाई जैविक गाउँका रुपमा विकास गर्ने गरि खिमाडा विकास समाज र सहकारी मार्फत कार्य अघि बढाउने योजना रहेकाे बताएका छन । खिमाडाका पौराणिक धारा र पिपल चौतारहरूको संरक्षण, जिर्णोद्दार र नयां चौतारहरू बनाउन जैविक खेती र उद्यम विकासका कार्यहरु गर्नेगरि अघि बढ्ने योजना रहेको भण्डारीले बताए ।
मातृभूमीका लागि केही योगदान गर्ने चाहना अनुरुप आफु डेनमार्क देखि यहाँसम्म पुगेको बताउँदै उनले यस सामाजिक अभियानमा साथ सहयोग र हौसलाका लागि सवैलाई आह्वान गरेका छन । कार्यक्रम व्यवस्थापनका लागि मंगलसेन नगरपालिका ११ का वडा अध्यक्ष नर बहादुर भण्डारी, युवा व्यवसायी पूर्ण भण्डारी लगायतका व्यक्तिहरु सक्रिय भएका छन ।

