
स्कुल अफ डेमोक्रेसी अछामद्धारा जिल्ला अस्पताललाई न्यानो कम्बल र बेडसेट हस्तान्तरण गरेको छ । संस्थाले कोरोना कालमा स्वास्थ्य सामग्रीका लागि संकलन गरेको सहयोग रकमबाट अस्पताललाई सामग्री खरिद गरि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का मार्फत हस्तान्तरण गरेको हो ।

संस्थाले जाडो अस्पताललाई ४० थान तातो कम्बल, सिरानी सेट ५० वटा र ५० वटा बेडसेट वितरण गरिएको छ । जम्मा १ लाख ८२ हजार लागतमा सामग्री उपलव्ध गराईएको सो अवसरमा जानकारी दिईएको थियो । ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले अछाम अस्पतालको विकास र समस्या समाधानका लागि आफु प्रयत्नशिल रहेको बताउनुभएको छ । सवै तहका जनप्रतिनिधिको समन्वयमा अछाम अस्पतालको भवन निर्माणका लागि पहल भैरहेको भन्दै अव छिट्टै यसको थालनी हुने बताउनुभयो । अस्पतालमा दक्ष स्वास्थ्यकर्मीको परिपूर्तिका लागि पनि आफुले पहल गरेको मन्त्री खड्काको भनाई छ । स्कुल अफ डेमोक्रेसी अछामले जुन उदेश्यका साथ रकम संकलन गरेको थियो सो अनुसार अस्पतालमा सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्नका लागि आग्रह गर्नुभयो ।
स्कुल अफ डेमोक्रेसी अछामका अध्यक्ष पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि रहनुभएका मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले स्कुल अफ डेमोक्रेसीले अस्पतालका लागि सामग्री उपलव्ध गराएर महाँन कार्य गरेको बताउनुभयो । अस्पतालको सेवा प्रवाहबाट पछिल्लो समय विश्वासको बाताबरण बढ्दै गएको उहाँको भनाई छ । यस्तै अर्का बिशिष्ट अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले अस्पताल जस्तो पवित्र संस्थामा जाडोको समयमा न्याँनो कपडा उपलव्ध गराएकोमा धन्यवाद दिनुभयो । सिमित साधनश्रोतमा दिईरहेको सेवा सुविधा उदाहरणिय भएको ढकालको भनाई छ ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटी र अस्पतालका मेसु कमलेश यादवले मन्तव्य राख्नुभएको थियो । स्कुल अफ डेमोक्रेसी अछामका जनकराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन बम स्वारले गर्नुभएको थियो ।





