
अछामः

द्वारिका देवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भर कार्यक्रम अन्तरगत वस्ती स्तरीय कार्यक्रम तुर्माखाँदमा सुरु भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा विपन्न महिलाहरुका लागि ७ दिने तालिमको उदघाटन गरिएको हो ।
सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलकाे अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा तुर्माखाँद गाउँपालिका अध्यक्ष अध्यक्ष डम्बर वहादुर विसि प्रमुख अतिथि रहनुभएको थियो । तालिम उदघाटन गर्दै अध्यक्ष बिसीले तालिमको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सहभागीहरुलाई सिप सिकेर आत्मनिर्भर बन्नका लागि उहाँले आग्रह गर्नुभयो ।

तालिम उदघाटन कार्यक्रमको विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष विमला कुमारी शाही रहनुभएको थियो । अन्य अतिथिमा वडानम्वर ४ का अध्यक्ष पदम बहादुर बिसी, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक हर्ष बहादुर चन्द र कार्यपालिका सदस्य सुनिता शाही रहनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले सहभागी महिलाहरुलाई ७ दिने तालिममा व्यवसायिक ज्ञान दिनुका साथै प्रतिव्यक्ति २० हजारका दरले व्यवसाय सुरु गर्न बिउ पुजी उपलव्ध गराईने बताउनुभयो ।
फागुन १२ गतेसम्म सञ्चालन हुने तालिममा तुर्माखाँद गाउँपालिका वडानम्वर ६ रानीवनका विभिन्न टाेलका २५ जना विपन्न महिलाहरुकाे सहभागीता रहेकाे छ । तालिम उदघाटन कार्यक्रम सञ्चालक वसन्ती कुमारी शाहीले गर्नुभएको थियो ।


