
अछामः गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताएका छन् ।


अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उनले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताएका हुन्।
गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ। नवस्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मतससम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए।
भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माण अन्तर्गत पहिलो किस्ता बापत प्रतिघर रु ५० हजार प्रदान गरिएको छ। एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो।

