
अछाम । अछाम जिल्लाको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा आज साँझ भीषण आगलागी भएको छ । स्थानीय पत्रकार धनराज साउँदका अनुसार मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेको छ ।


आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाहरूले भरपुर प्रयास गरिरहे पनि आगोको मुस्लो बढ्दै गएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ । पत्रकार साउतले जानकारी दिए अनुसार आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल मगाउने पहल भइरहेको छ ।
आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा अहिले स्थानीयवासीको ठूलो भीड लागेको छ भने सबैजना आगो निभाउने प्रयासमा जुटेका छन् । तर, दमकल समयमै नपुगे थप क्षति हुन सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।
आगलागीको थप विवरण र क्षतिको यकिन जानकारी आउन बाँकी छ ।

