
लक्स बुढाः

धेरै मानिसहरूका लागि जीवन सामान्य रूपमा बगिरहेको हुन्छ । तर केही जीवन यस्तो हुन्छ जुन संघर्ष र समर्पणको अर्को नाम बन्न पुग्छ । यस्तै संघर्ष, धैर्यता, निरन्तरता र सफलताको पर्याय बनेका पात्र हुन् खेमराज बुढा । अछामको एक सामान्य किसान परिवारमा जन्मिएका खेमराजले आफ्नो कर्म, धैर्य र अनुशासनको बलमा भारतको सर्वोच्च अदालतसम्मको यात्रा पुरा गरेका छन् । उनको कथा केवल व्यक्तिगत सफलताको गाथा मात्र होइन, हजारौं युवाका लागि आशा, प्रेरणा र सम्भावनाको उज्यालो ज्योति पनि हो ।

वि.सं. २०३६ सालमा अछाम जिल्लाको मेल्लेख गाउँपालिका–३, ठाँटि दर्बा गाउँमा जन्मिएका खेमराज सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये ज्येष्ठ सन्तान हुन् । जहाँ शिक्षा, स्वास्थ्य र यातायात जस्ता आधारभूत सेवा-सुविधाहरू कल्पना भन्दा टाढा थिए । त्यही गाउँमा उनले जीवनको पहिलो उज्यालो देखे । त्यहीको श्री पिपलसैन माध्यमिक विद्यालयमा उनले कक्षा ७ सम्मको औपचारिक शिक्षा हासिल गरे ।
तर उनको पढाइले निरन्तरता पाउन भने पाउन सकेन । परिवारको आर्थिक अवस्था नाजुक थियो, जिम्मेवारीहरूको चाङ उनकै काँधमा आइपरेको थियो । त्यसैले वि.सं. २०५६ सालतिर पढाइको सपना बीचमै रोक्दै उनी परिवारको दायित्व बोकेर नयाँ सम्भावनाको खोजीमा भारततर्फ हिँडे ।
भारतमा संघर्षको सुरुवात
१९ वर्षको उमेरमा खेमराज भारत पुगे। त्यहाँ उनले जीवनको कडासँग भिड्न थाले । अनौठो भाषा, अनजान परिवेश र पारिवारिक जिम्मेवारीले थिचिएको अवस्था – यिनै बीचबाट उनी आफ्नो बाटो कोर्न लागे । सुरुवाती दिनहरूमा उनी मजदुरी, गार्डको काम जस्ता अस्थायी रोजगारीमा संलग्न भए । खेमराज भन्छन – मेरो मनमा एउटै दृढता थियो “संघर्षबाट पछि हट्ने छैन ।”
यही निरन्तरता र इमान्दारिताकै कारण, वि.सं. २०५९ सालमा उनी हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँग सम्पर्कमा पुगे । यो सम्पर्क नै उनको जीवनको पहिलो निर्णायक मोड बन्यो । यहीँबाट उनले भारत सरकारको सुरक्षा क्षेत्रमा सेवा आरम्भ गरे ।
सुरक्षाकर्मीबाट सर्वोच्च अदालतसम्म
खेमराजले आफ्नो कामप्रतिको समर्पण, अनुशासन र आत्म–विश्वासको उदाहरण दिन थाले । उनको कार्यशैलीले उच्च अधिकारीहरूलाई प्रभावित बनायो । वि.सं. २०६२ सालतिर उनी दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग सेवामा जोडिन पुगे । यो मौका उनका लागि स्वर्णिम अवसर सावित भयो ।
वर्षौंको अथक मेहनतपछि अन्ततः वि.सं. २०७५ साल फागुन २६ गते भारत सरकारद्वारा उनलाई भारतको सर्वोच्च अदालतमा नियुक्त गरियो । उनी ५३ औं न्यायाधीश सूर्य कान्तसँग विगत ६ वर्ष देखि कार्यरत छन् । यति ठूलो संस्थामा, विदेशी नागरिकको रूपमा, खेमराजले पुर्याएको योगदान असाधारण हो ।

उनको कार्यदक्षता र सेवाभावप्रति भारत सरकारले कदर गर्दै, यसैविच २०८१ माघ २३ गते राष्ट्रपति भवन, नयाँ दिल्लीमा आयोजित सर्वोच्च अदालतको ७५ औं वार्षिकोत्सवमा विशेष सम्मान पनि प्रदान गर्यो । यो सम्मान केवल उनको व्यक्तिगत उचाइ होइन, सिंगो नेपाली समुदायका लागि गर्वको विषय बन्यो ।
सेवाभाव र सामाजिक उत्तरदायित्व
पद, प्रतिष्ठा र सम्मान पाएपछि धेरैजसो मानिसहरू आफूमा सीमित हुन्छन् । तर खेमराजले त्यस्तो गरेनन् । उनी केवल सफल कर्मचारी मात्र होइन, एक संवेदनशील र समाजप्रति उत्तरदायी नागरिक पनि हुन् । विगत लामो समयदेखि उनी समाजसेवी लक्ष्मी बोगटी कुँवर लगायत अन्य समाजसेवक मार्फत विपन्न, पीडित र असहायहरूलाई पनि सहयोग गर्दै आएका छन् ।
उनी भन्छन – “संघर्षमै जीवन छ, आफैँ मात्र बाँचे पुग्दैन, अरूलाई पनि बाँच्नुपर्छ भन्ने बाटो देखाउनु मानव धर्म हो ।” उनी आफ्ना हरेक काममा यो दर्शनलाई लागू गर्दै आएका छन् ।
पारिवारिक जीवन
खेमराजको परिवारमा हाल ६ जना सदस्य छन्– आमा, बुबा, श्रीमती, दुई छोराहरू र उनी स्वयं । उनका बुबा–आमा अहिले कैलाली जिल्लाको भजनी नगरपालिका–२ मा स्थायी बसोबास गरिरहेका छन् । जेठा छोरा लक्स बुढा जो आफै पनि आफनु बुआले भारत लाई कर्म थलो रोजे झै २० वर्षको उमेर मै जापान लाई कर्म थलो बनाउजे तयारीका साथ काठमाडौंमा अध्ययनरत छन्, भने कान्छो छोरा र श्रीमतीसँग उनी स्वयं भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आएका छन् ।
युवाहरूका लागि सन्देश
खेमराज बुढाको जीवनकथा केवल एक सफलताको दस्तावेज होइन । यो लाखौं युवाहरूका लागि ब्यूँझाउने घण्टी हो । विशेषतः ती युवाहरूका लागि, जो दुर्गम भूगोल, आर्थिक अभाव र समाजका सीमाहरूबीच अड्किएर बसिरहेका छन् । उनले देखाएका छन् कि जहाँ चाह हुन्छ, त्यहाँ राह अवश्य हुन्छ । परिस्थिति कस्तो भए पनि, जुनसुकै थलोमा जन्मिएको भए पनि, यदि इमानदार श्रम, सच्चा नीयत र लगनशीलता छ भने, सपना साकार हुन सक्छ । उनले आफूले प्राप्त गरेको हरेक अवसरलाई सिर्जनात्मक उपयोग गर्दै, न केवल आफ्नै जीवन बदल्न सके, बरु अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सफल भए ।
निष्कर्ष
खेमराज बुढाको जीवन एक जीवित काव्य हो – जुन दुर्गम गाउँको माटोबाट उठेर, लाखौँ हिँडाइ, बाधा र पीडामार्फत दिल्लीको सर्वोच्च अदालतसम्म पुगेको छ । यो कथा केवल शब्दको सन्देश होइन, यो संघर्षको सम्मान हो, सम्भावनाको सन्देश हो ।
उनको जीवन हाम्रा लागि एउटा ऐना हो- जहाँ हामी आफैंलाई हेरेर सोध्न सक्छौं : “के हामी पनि आफूभित्र लुकेको शक्ति चिन्छौं? के हामी पनि कुनै दिन असम्भवलाई सम्भव बनाउने हिम्मत राख्छौं?” खेमराज बुढाले हामीलाई देखाएका छन्– हो, हामी सक्छौं ।
प्रस्तुतीः मंगलखबर ।
