पार्टी अध्यक्ष पदका लागि लड्छु : भीम रावल

अछामः नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी अध्यक्ष पदमा उठ्ने बताएका छन्। गृहजिल्ला अछाममा कार्यकर्तालाई सम्बोधन गर्दै रावलले मंसिरमा हुन लागेको पार्टीको दसौं महाधिवेशनमा अध्यक्षमा लड्ने संकेत गरेका हुन्। यद्यपि यस विषयमा पार्टीका नेता कार्यकर्तासँग परामर्श गरिरहेको उनले बताए।

Samajik New Add 2082

रावलले गृहजिल्लाका कार्यकर्तालाई आफू पार्टीको कुन पदमा उठ्ने राम्रो होला भनी सोधेका थिए। कार्यकर्ताहरूले अध्यक्ष, अध्यक्ष, अध्यक्ष भनेर हुटिङ गरेका थिए। सोही क्रममा उनले भने, ‘तपाईंहरु जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छु। कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ।’

उनले चुनावमा उठ्दा केपी ओलीदेखि माधव नेपालसम्म पटक पटक हारेको स्मरण गरे। ‘चुनावमा उठेपछि नहार्ने को छ र? आठौं महाधिवेशनमा केपी ओली र म एकै प्यानलमा हारेका थियौँ। म संविधानसभामा हारेको थिएँ, २०४८ सालमा पनि हारेकै हो। माधव नेपालले पनि काठमाडौंमा चुनाव हारेका थिए’, उनले भने, ‘चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन। मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो। कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु।’

उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनुपर्नेमा पनि जोड दिए। ‘यो महाधिवेशनबाट एमालेलाई बलियो बनाउनुपर्छ। अध्यक्ष केपी शर्मा ओलीले आफैंले सही गरेको निर्णय कार्यान्वयन गर्नेमा अझै विश्वस्त छु,’ उनले भने, ‘यदि असार २७ को १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन-१२ अनुसारको निर्णय कार्यान्वयन गरेनन् भने त्यही हामी पनि कदम चालौँला।’

Leave A Reply

Your email address will not be published.