मंगलसेन १४ मा बहुविपन्न महिलाहरूलाई व्यवसायीकता विकास तालिम सम्पन्न

तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने: नगर उपप्रमुख रावल

अछाम:

Samajik New Add 2082

मंगलसेन नगरपालिका–१४ मा यहि बैशाख ३ गतेबाट सञ्चालन गरिएको व्यवसायिकता विकास तालिम सम्पन्न भएको छ। बहुविपन्न तथा सीमान्तकृत महिलाहरूको आयआर्जन वृद्धि र सीप विकास गर्ने उद्देश्यले मालिका सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मंगलसेन नगरपालिकाको सहयोग र साझेदारीमा सञ्चालन गरिएको उक्त तालिम एक कार्यक्रमका विच समापन गरिएको हो।

सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको समापन कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएको थियो।तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले यस्ता तालिमले विपन्न तथा सीमान्तकृत महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्बर १४ का अध्यक्ष शिव बहादुर सोडारी, स्वास्थ्यचौकी कालागाउँका इञ्चार्ज मान बहादुर सोडारी, तथा तालिम प्रशिक्षक एवं नगरपालिका पशुसेवा शाखा प्रमुख नेत्र बहादुर कठायत अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सहभागी अतिथिहरूले पनि तालिमले महिलाहरूको जीविकोपार्जन सुधारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै सिकाइलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्न सुझाव दिएका थिए।

उक्त तालिमकाे पशु स्वास्थ्य प्राविधिक नेत्र बहादुर कठायत, उद्यम विकास सहजकर्ता राम बहादुर बुढा, प्रशिक्षक कमल बहादुर थमपाले प्रशिक्षकको रूपमा सहजिकरण गर्नुभएको थियो।
तालिममा वडा नम्बर १४ का १२ जना बहुविपन्न महिलाहरूको सहभागिता रहेको थियो। यसअघि वडा नम्बर १ मा पनि १३ जना महिलाहरूका लागि यस्तै प्रकृतिको तालिम सञ्चालन गरिसकिएको आयोजकले जनाएको छ।

तालिम सम्पन्न पश्चात् दुवै वडाका कुल २५ जना महिलालाई स्वरोजगारमूलक व्यवसाय सुरु गर्न सहयोग पुग्ने गरी जनही २६ हजार रुपैयाँका दरले बिउपूँजी अनुदान प्रदान गरिने कार्यक्रम रहेको मालिका सामुदायिक सिकाइ केन्द्रले जनाएको छ। तालिमकाे समापन समाराेहकाे सञ्चालन सिकाई केन्द्रका सहजकर्ता श्रीया जैगडीले गर्नुभएको थियाे।

 

Leave A Reply

Your email address will not be published.