मंगलसेन न.पा. ३ मा अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुरु
अछाम २ पौषः

मंगलसेन नगरपालिका वडानम्वर ३ मा शुक्रबारबाट औपचारीक रुपमा पूर्ण अनलाईन प्रणालीबाट घट्ना दर्ता कार्य सुभारम्भ गरिएको छ । नगरपालिकाले वडामा ईन्टरनेटको व्यावस्थापन गरेसंगै वडाले घट्ना दर्ता कार्य पूर्ण रुपमा अनलाईन मार्फत सुरु गरेको हो ।
वडा कार्यालय मार्फत अनलाईन प्रणालीबाट घटना दर्ता कार्य प्रारम्भ भएसंगै वडा अध्यक्ष पदम सिंह भाटले अनलाईन प्रणाली मार्फत दर्ता गरिएको जन्मदर्ता र २ जोडिको बिवाह दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै वडामा अनलाईन प्रणाली सुभारम्भ भएको घोषणा गर्नुभयो । अनलाईन मार्फत पहिलो दिन स्थानीय टक्कर साउदको जन्मदर्ता र खेमराज बिष्ट र कल्पना बिष्ट तथा महेन्द्र बिष्ट र कविता रावलको बिवाह दर्ता कार्य गरिएको थियो । यसरि अनलाईन प्रणालीबाट छिटो छरितो र सहज रुपमा नागरिकले सेवा पाउँने वडा अध्यक्ष भाटको भनाई छ । अनलाईन प्रणालीबाट व्यक्तिगत घट्ना दर्ता कार्य गरिँदा खोजेको बिवरण तत्काल भेटीने सेवा प्रवाह छिटो छरितो हुने र सेवा प्रवाहमा पनि सहज हुने भन्दै उहाँले अवका दिनमा ईन्टरनेट सेवालाई थप प्रभावकारी बनाईने बताउनुभयो ।
वडा नम्वर ३ मा व्यक्तिगत घट्ना दर्ता कार्य अनलाईन प्रणालीबाट सुरु भएसंगै नगरपालिकामा ७ वटा वडा अनलाईनमा गएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले बताउनुभयो । यसअघि वडानम्वर ४, ५, ६, ७, २ र १० नम्वर वडाले अनलाईन प्रणाली मार्फत घट्ना दर्ता कार्य संचालन गरिरहेका उहाँको भनाई छ । अन्य वडाहरुमा पनि क्रमशः अनलाईन प्रणाली मार्फत घट्ना दर्ता कार्य संचालन गरिने र हाल ईन्टरनेट जडानको कार्य भैरहेको जनाईएको छ ।
अनलाईन प्रणाली मार्फत व्यक्तिगत घट्ना दर्ता कार्य सुभारम्भ कार्यक्रममा वडा सदस्य बृख बोगटी, सरस्वती टमट्टा र खन्टी बिक, नगरपालिकाका एम आई एस अपरेटर एकेन्द्र बोगटी, फिल्ड सहायक दिल बहादुर केसी, स्थानीय अगुवा चक्र साउद, भोगेन्द्र बोगटी र तेज बहादुर साउद, वडाका पशु प्राविधिक पुजा बिष्ट लगायत स्थानीयको सहभागीता रहेको थियो ।
मंगलसेन नगरपालिकाका एम आई एस अपरेटर होम बहादुर साउदले घट्ना दर्ता कार्य अनलाईन प्रणालीको विशेषता र उपयोगीताबारे जानकारी गराउनुभएको थियो भने सञ्चालन वडा सचिव बाल्कृष्ण ढुंगानाले गर्नुभएको थियो ।