राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, कुन-कुन दलले टुंग्याए उम्मेदवार ?

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए ।

Samajik New Add 2082

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गरेको छन्। निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

जसमा एमाले, काँग्रेस, एकीकृत समाजवादी र जनमोर्चाले मात्र उम्मेदवार टुंगो लगाएका छन् । एमालेले रिक्त १९ सिटमा एकल उम्मेदवारी दिएको छ भने काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच चुनावी तालमेल भएको छ । काँग्रेसले ६, माओवादीले ५, एकीकृत समाजवादीले ५, जसपाले २ र जनमोर्चाले एक सिटमा उम्मेदवारी दिँदै छन् ।

चार दलले तय गरे उम्मेदवार, ८ दलबाट बाँकी

एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।

एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी उम्मेदवार बनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा एमालेबाट खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक उम्मेदवार बनेका छन् ।

यस्तै काँग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, लुम्बिनी प्रदेशमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनेको छ ।

एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाएको छ ।

यता राष्ट्रिय जनमोर्चाले राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी र जसपाले भने सोमबार उम्मेदवारी टुंग्याउन सकेन । आज विहान उम्मेदवारी टुंग्याउने माओवादी र जसपाको तयारी छ ।

यस्तो छ निर्वाचन कार्यक्रम

आज २० गते उम्मेदवारी दर्ता हुने छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आयोगले मतदानका लागि प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ । प्रदेश २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरामाम मतदान हुने छ ।

यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहने छ । आयोगले निर्वाचनका अनुसार प्रदेशसभा सदस्यहरु ४३२ , पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता हुने छन् ।

-ratopati

Leave A Reply

Your email address will not be published.