अछाममा सोमबार २८ जनामा कोरोना पुष्टी
चक्र प्रशाद जैसीः

अछाममा सोमबार थप २८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणमा ११ जना र एन्टीजेन परीक्षणमा १७ जना गरी जम्मा २८ जनामा संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा २६ जनाको नमुना परिक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण देखिनेमा सबै भन्दा बढी कमलबजार नगरपालिका छन । नगरपालिकाको वडा नम्बर १, २, ३, ६, ८ र १० का ३०, ३२,३२,४२,४५, र ५५ बर्षका ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो । कमलबाजारका ६ जना संक्रमण पुष्टि हुने मध्य दुई जना स्वास्थ्यकर्मी रहेको जनाईएको छ ।
यस्तै ढकारी गाउँपालिकाका एकजना कर्मचारीसहित चार जनामा संक्रमण देखीएको छ । गाउँपालिकाको वडा नम्बर २ का २९, २१, ४८ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका सुचना अधिकारी बिष्टका अनुसार मंगलसेन नगरपालिकाका ३ जना महिलाको रिपोर्ट भने नेगेटिभ आएको छ भने कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म पिसिआर प्रयोगशालामा ८ हजार ८० जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
यसैबिच जिल्लाका मंगलसेन नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिकामा आज ३३ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा थप १७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति तथा ल्याव अधिकृत मीन बहादुर कुवँरले जानकारी दिनुभयो । संक्रमण देखिनेमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का ४ जना, बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३,४ र ५ का ९ जना, र रामारोशन गाउँपालिका वडा नम्बर २ र ३ का ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत कुवँरले बताउनुभयो ।
यस्तै यो समाचार तयार पार्दा सम्म जिल्लाभर १ सय ३६ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ कार्यालय अछामले जनाएको छ । तीमध्ये १ सय ३३ जना होम आईसोलेसनमा छन् भने ३ जना अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।