फागुन १५ भित्र स्वास्थ विमा गरिसक्नु : साँफेबगर नगरपालिका
अछामः- अछामको साँफेवगर नगरपालिकाले नगरबासिलाई स्वास्थ विमा अनिवार्य गर्न निर्देशन दिएको छ । स्वास्थ विमा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरापलिकाले यस्तो निर्देशन दिएको नगरप्रमुख कुलबहादुर कुँवरले बताउनुभयो ।
यसअघि कार्यपालिकामा भएको निर्णयलाई थप प्रष्ट पार्दै साँफेबगर नगरप्रमुख कुँवरले जनप्रतिनिधी तथा कर्मचारीहरुलाई फागुन १५ गते भित्र आफ्नो र घरपरिवारको स्वास्थ्य विमा गरिसक्न निर्देशन दिनुभएको छ ।
उक्त समयावधि भित्र स्वास्थ्य विमा नगरेमा नगरपालिकाबाट प्राप्त गर्ने र प्राप्त गर्दै आईरहेका सबै प्रकारका सेवा सुविधा, तलब भत्ता रोकिने उहाँले बताउनुभयो । एक प्रेस विज्ञप्ती जारि गर्दै नगरप्रमुख कुवरले नगरवासिले स्वास्थ्य बिमा गरेको कार्ड ल्याएपछि मात्र नगर र वडाबाट प्रदान गरिने सबैखाले सेवा सुविधा प्रदान गर्ने जानकारी गराउनुभएको छ ।
यसैगरि नगरपालिकालाई कर तथा राजश्व तिरेको कागजात र एकिकृत सम्पत्ती कर एवं व्यावसाय कर तिरेको कागजात अनिवार्य रुपमा पेश गरेर मात्रै सार्वजनिक सेवा प्रवाह गरिने निर्णयलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गरिने नगरप्रमुख कुवरको भनाई छ ।
