अन्नपूर्ण मावि कालागाउँमा बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम
खानेपानी सरसफाइ तथा स्वच्छता (वास) क्रियाकलापहरु जनस्वास्थ्य केन्द्रीत बिद्यालय पुन: संचालन सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम अन्नपूर्ण मावि कालागाउँमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजना र वडा नम्वर १४ का सबै विद्यालयको सहभागितामा कार्यक्रम गरिएको हाे ।
अभिमुखिकरणमा कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव र बिद्यालयहरुलाई के कसरी निसंक्रमण गर्न सकिन्छ भन्नेबारे छलफल गरिनुका साथै स्वास्थ्य सरसफाई र सरसफाई सूचकहरुबारे जानकारी गराईएको थियो । यस्तै क्लोरिन झोल बनाउने र त्यसको प्रयोग बिधिबारे पनि जानकारी गराईएको छ ।
बिद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पुष्पराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले स्वास्थ्य र सरसफाईबारे अभिमुखिकरण कार्यक्रमबाट सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सहभागीलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्र राम्रो भए मात्रै समुन्नत समाज निर्माण हुने बताउँदै उहाले सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी र वडानम्वर १४ का अध्यक्ष तेज बहादुर भण्डारी बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा जयबहादुर बोहरा लगायतका अतिथि रहनुभएको थियो भने नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । अन्नपूर्ण माविका प्रअ रतन बहादुर थापाले विशिष्ट उद्देश्यबारे जानकारी गराउनुभएको कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक दीपक बहादुर भण्डारीले गर्नुभएको थियो ।
कोभिड १९ र अन्य सरुवा रोगहरुको रोकथामका लागि ज्ञानसीप अभिबृद्धि गर्ने उदेश्यले आयोजित सो कार्यक्रममा सहभागी सबै ५ वटा विद्यालयहरुलाई प्रति विद्यालय बाल्टी २/२ थान, जर्किन १/१ थान, पोछा १/१ थान, मास्क ४०० पिस, ग्लोभ्स ५० जोडा, ब्लिचिङ्ग पाउडर २/२ के जी वितरण गरिएको छ । यस्तै टाबेल १/१ थान, साबुन १/१ दर्जन, स्यानिटाइजर, एप्रोन, फ्लास ब्यानरहरु र मग समेत हस्तान्तरण गरिएको थियो ।