शिक्षण पेशा छोडेर वडा अध्यक्ष लडेका २ जना माओवादी उम्मेद्धारः भीम र नरेन्द्र

क्याम्पसको प्राध्यापन छोडेर मेल्लेख ४ को वडा अध्यक्षमा भीड्दै भीम साउदः
अछामको मेल्लेख गाउँपालिका ४ कुष्कोटका भीम बहादुर साउद प्राध्यापन छोडेर वडा अध्यक्ष लडेका छन । जनशिखा क्याम्पस मेल्लेखका प्राध्यापक साउद यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट मेल्लेख गाउँपालिका ४ मा वडा अध्यक्षको उम्मेद्धार बन्नुभएको हो ।
ईमान्दार र समाजसेवीको छवि वनाएका साउदले वैशाख ९ गते क्याम्पस प्राध्यापकबाट राजिनामा दिई वडा अध्यक्षमा उम्मेद्धारी दिएर चुनावी मैदानमा होमिएका छन । राजनीतिक रुपमा नेकपा माओवादी केन्द्रमा आवद्ध रहेका साउद बिगतमा अखिल नेपाल शिक्षक संगठनको बिभिन्न जिम्मेवारीमा रहि काम गरिसकेका छन ।
२०५१ बाट कम्युनिष्ट पार्टीमा आवद्ध भएका भीम बहादुर साउद २०५८ मा माओवावादीमा संगठित हुनुभएको थियो । २०७० मा एकिकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला सदस्य भएका साउद २०७४ मा संगठनको अर्थ सचिवका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । २०७२ देखी जनशिखा क्याम्पसमा प्राध्यापक रहनुभएका साउदले त्यसअघि कालिका प्रावि र वेतालमाण्डौ प्राविमा पनि शिक्षण गर्नुभएको थियो ।
वडाको नेतृत्वका लागि सबैको सकारात्मक सहयोग रहेकाले आफुले वडा अध्यक्षमा जित्ने निश्चित रहेको साउदले दावी गर्नुभयो । सामाजिक बिकृति विसंगतीको अन्त्य तथा समाजको अग्रगामी परिवर्तन र रुपानतरणका लागि पनि आफु राजनीतिमा सक्रिय रहेको साउदले बताउनुभयो । संगै आफ्नो व्यक्तित्व र सामाजिक कार्य तथा नेकपा माओवादी केन्द्रको संगठनका कारण पनि जित्नेमा विश्वस्त रहेको उहाँको भनाई छ ।

नेपालको शासन व्यवस्थालाई बदल्ने मात्रै नभई राज्य संरचनाको आमूल परिवर्तन, जनतलाई अधिकार सम्पन्न बनाउने पार्टी माओवादी भएको साउदले बताउनुभयो । सामाजिक समानता, संघियता, समावेशी, समानुपाती प्रतिनिधित्वको मुल एजेण्डालाई संस्थागत गर्नका लागि पनि माओवादीले जित्नुपर्ने उहाँले बताउनुभयो ।
शिक्षण छोडेर रहफको वडा अध्यक्षमा उम्मेद्धार बनेका नरेन्द्र लम्सालः
तुर्माखाँद गाउँपालिका वडानम्वर १ रहफमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा लडेका नरेन्द्र लम्साल शिक्षण पेशा छोडेर आएका हुन । शिक्षा शास्त्रमा एम एड र मानविकिमा एम ए गरेका लम्साल २०७८ पुष महिनासम्म रामारोशन गाउँपालिका ५ नेटाकोट स्थित यसोदा माविमा उच्चमाविको शिक्षक हुनुहुन्थ्यो ।
स्थानीय चुनाव नजिकिएसंगै वडा अध्यक्षमा लड्नकै लागि शिक्षण पेशा छोडेर राजनीतिमा सक्रिय भएको लम्साल बताउँछन । २०५१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका लम्साल २०५७ मा अखिल नेपाल किसान संगठन रहफको अध्यक्ष रहनुभयो । सोहि वर्ष सुर्खेतमा हिरासतमा बसेका लम्सालले २०५८ मा पुन जिप्रका मंगलसेनमा हिरासत बस्नुपर्यो । २०६० देखी शिक्षण पेशामा आवद्ध हुदा अखिल नेपाल शिक्षक संगठनमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव उहाँसंग छ । २०७५ देखी २०७८ सम्म शिक्षक संगठनको सुदूरपश्चिम प्रदेश कमिटी सचिवको रुपमा रहनुभएका लम्सालले २०६५ सालमा बुद्धशान्ती प्रावि भुलु र २०६६ देखी २०७२ सम्म बिन्द्रशैनी मावि रहफमा समेत शिक्षण गर्नुभएको थियो ।
अहिले जनसमुदायको मनोभावनाको कदर गर्दै आफु शिक्षक छोडेर वडा अध्यक्षमा उम्मेद्धार बनेको भन्दै लम्सालले मतदाताले पनि बिजयी गराँउने विश्वास व्यक्त गर्नुभयो । माओवादी केन्द्रका एजेण्डाकै वरिपरि देश चलिरहेको बेलामा परिवर्तनलाई संस्थागत गर्नका लागि पनि माओवादी नेतृत्वमा आउनुपर्ने लम्सालको भनाई छ ।
आफु बिजयी भएपछि समान विकास र सुशासन कायम गरि नमूना वडा बनाउँने उहाँको प्रतिवद्धता छ । दुर्गम र पिछडीएको क्षेत्रलाई माथि उठाउन पनि आफु प्रयत्नशिल रहेको लम्साल बताउँछन ।
