मंगलसेन १ का अध्यक्षको पदभार ग्रहण सहित पूर्व जनप्रतिनिधिको बिदाई
एकेन्द्र थापा : मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिबण्डालिका नव निर्वाचित वडा अध्यक्ष लोकराज नाथ लगायतका जनप्रतिनिधिको पदभार ग्रहण सहित निवर्तमान जनप्रतिनिधिको बिदाई गरिएको छ । वडामा एक कार्यक्रमका बिच वडा अध्यक्ष नाथ लगायतका जनप्रतिनिधिको स्वागत सहित पदभार ग्रहण र निवर्तमान जनप्रतिनिधिको बिदाइ गरिएको हो ।
वडा अध्यक्षका रुपमा पदभार ग्रहण गर्दै नव निर्वाचित वडा अध्यक्ष लोकराज नाथले वडाका नागरिकलाई वडा सरकारको अनुभूति हुने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् । वडाका नागरिकको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै विभेद रहित ढङ्गबाट बजेट विनियोजन र सेवा प्रवाह गर्नु नै आफ्नो पहिलो दायित्व हुने नाथको भनाई छ ।
वडाको समग्र बिकासका लागी भिलेज प्राफाईल निर्माण गर्ने, वडाका ग्रामिण सडकको व्यवस्थापन,शिक्षा र स्वास्थ्य सेवा बिस्तारका लागी उचित व्यवस्थापन गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । यस्तै वडामा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम लागु गर्ने समेत वडा अध्यक्ष नाथको प्रतिबद्धता रहेको छ ।
यस्तै निवर्तमान वडा अध्यक्ष गोपाल थापाले आफ्नो कार्यकालमा बाँकी रहेका कार्ययोजनाहरुलाई नव निर्वाचित जनप्रतिनिधिले पूर्णता दिने अपेक्षा गरेका छन् । मङगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिबण्डालिका वडा अध्यक्षमा लोकराज नाथ सहित नेकपा एमालेका ३ र १ जना नेपाली काग्रेसका सदस्य विजयी भएका थिए । पदभार ग्रहण कार्यक्रमको सञ्चालन वडा सचिव दिपक भण्डारीले गर्नु भएको थियो ।
