किशोर हत्या पराकम्प : अछाममा डीएसपी हेरफेर
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी रविराज थपलिया काठमाडौं तानिएका छन् । उनको ठाउँमा दंगा नियन्त्रण गण नेपालगञ्जबाट नारायण डाँगीलाई सरुवा गरिएको छ ।
जेठ १७ गते पञ्चदेवल नगरपालिका-४ कालिकास्थानका १५ वर्षीय युवक विनोद शाहीको हत्या भएको ३ साता बित्दासम्म राजनीतिक दबाबमा प्रहरी अनुसन्धान प्रभावित बनेको टिप्पणी भइरहँदा प्रहरी प्रमुखको सरुवा भएको हो । नयाँ डीएसपी डाँगी आजै मंगलसेन पुग्ने बताइएको छ ।
विनोदको हत्या गरेको अभियोगमा आफन्तले १५ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले ५ जना मात्र पक्राउ गरेको छ । पञ्चदेवल नगरपालिका मेयर अम्विका चलाउने, जिसस अछामकी उपप्रमुख दानमती वम शाही र निवर्तमान वडाअध्यक्ष सज्जनबहादुर शाहीलाई हत्याको मुख्य दोषी देखाउँदै आफन्तले तत्कालै जाहेरी दिएकोमा प्रहरीले सुरूमा जाहेरी लिएको थिएन । अदालतबाट पक्राउ पुर्जी जारी भइसकेका उनीहरू सबै अहिले फरार छन् ।
फरारहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै आफन्तले फेरि आन्दोलन थाल्ने तयारी गरेका छन् ।
‘घटनाको दिन दिनको तीन बजे, साँझ पाँच बजे, सात बजे प्रहरी धरपकड गर्न हाम्रो गाउँमा आएको थियो ’, मृतकका दाजु बखतबहादुरले भन्यो ‘प्रहरीको टोलीले नगरप्रमुख अम्विका चलाउनेको घरमा खाना खाएको र मदिरा सेवन गरेर गर्भवती महिला, युवा, बालबालिकामाथि आक्रमण गर्यो । मेरो भाइको हत्या हुँदा मुकदर्शक बन्यो ।’
उनले जिल्लामा नयाँ डीएसपी आएपछि घटनाको निष्पक्ष छानबिन हुनेमा आफूहरू आशावादी रहेको बताए । उनले भने, ‘हत्याका योजनाकार देखि हत्यामा संलग्नलाई कानून अनुसार हदैसम्मको कारवाही हुनुपर्छ ।’
वरिष्ठ अधिवक्ता कृष्ण हमाल प्रहरीले मध्यराति सर्वसाधारणको घरमा पसेर आक्रमण गर्नु गलत भएको बताउँछन् । ‘सामान्य रूपमा प्रहरीले राति आक्रमण गर्न पाउँदैन ।
राती प्रहरी जानैपर्ने हो भनेपनि जघन्य अपराध भएको,राष्ट्रविरुद्धको अपराध भएको वा आतंककारी भएको स्थानमा मात्र त्यसरी प्रहरीले धरपकड गर्न पाउने कानूनी व्यवस्था छ । अछामको घटनामा प्रहरीको सरासर गलत हो । महिलामाथि पुरुष प्रहरीले मध्यराति आक्रमण गर्नु झन् निन्दनीय छ ’, उनले भने ।
नेपाल प्रेस