कानून कार्यान्वयनमा निष्पक्षता कायम गर्नु नै प्रमुख प्राथमिकताः अछाम प्रहरी प्रमुख डाँगी
जिल्ला प्रहरी कार्यालय अछामले जिल्ला स्थित पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गरेको छ । भर्खरै सरुवा भएर अछाम आउनुभएका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण डाँगीले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम सहित जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।
कार्यक्रमका अवसरमा प्रहरी प्रमुख डिएसपी डाँगीले कानून कार्यान्वयनमा निष्पक्षता कायम गर्नु नै आफ्नो प्रमुख प्राथमिकता भएको बताउनुभयो । कानून कार्यान्वयनमा निष्पक्षता र दण्डहिनतालाई अन्त्य गर्न सकिएमा मात्रै जिल्लाको शान्ति सुरक्षा मजबुत हुने उहाँको विश्वास छ ।
यस्तै बिनायक घट्नाको सन्दर्भमा उहाँले अनुसन्धान कार्य चलिरहेको भन्दै आफ्नो भूमिका अनुसन्धानलाई निष्पक्ष रुपमा अघि बढाईदिनु मात्रै रहेको बताउनुभयो । दोषि नउम्किने र निर्दोश नफस्ने गरि अनुसन्धानलाई अगाडी बढाउने जिम्मेवारी रहेको बताउँदै उहाँले चाँडै नै सकारात्मक नतिजा आउने अपेक्षा गर्नुभयो ।
लागु औषध नियन्त्रण र शान्तिसुरक्षालाई मजबुत बनाउँन पनि पत्रकारहरुको सहयोगको अपरिहार्यता रहेकाेमा डिएसपी डाँगीको जोड थियो । त्यसका लागि पत्रकार र अन्य सम्वद्द निकायसंग सहकार्य गर्न तयार रहेको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित परिचयारत्मक कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षा र समग्र अवस्थितिबारे प्रहरी प्रमुख समक्ष जिज्ञासा राखेका थिए ।
बिस्तृत भिडियोमा हेर्नुहोसः