टेक बहादुर थापा : पछिल्लो समयमा जन्मदिन तथा अन्य शुभकार्यमा गरिने फजुल खर्च सामाजिक कार्यमा खर्च गर्ने प्रचलन बढेको छ । आफ्नो जन्म दिन होस या बिवाहको पार्टी होस यस्तो समयमा गरिने खर्च सामाजिक कार्य अन्तरगत आर्थिक अवस्था कमजोर भएका बालबालिका तथा दिर्घरोगीहरुलाई हस्तान्तरण गर्ने परिपाटिको विकास भएको छ ।
आफ्नो आर्थिक अवस्थाले भ्याए सम्म यस्ता कार्यमा खर्च गर्ने मनकारी ब्यक्तिहरु बढिरहेका छन । यस्तै मंगलसेन नगरपालिका वडा न ३ निवासी गौरी बोगटीले पनि आफ्नो जन्म दिनको अवसरमा दिर्घरोगीलाई आर्थिक सहयोग गर्नुभएको छ । सदरमुकाम मंगलसेनमा होटल व्यवसायी गर्दै आउनु भएकी बोगटीले जन्म दिनको अवसरमा कमलबजार नगरपालिका वडा न ७ सेराका क्यान्सर पिडित ३३ बर्षका नरी ढोलीलाई १ हजार ५ सय ५५ रुपैया सहयोग गर्नु भएको हो ।
जन्म दिनको अवसरमा मिठो मसिनो खाएर रमाउनु भन्दा पनि यस्ता दिर्घरोगीको उपचारमा केही सहज होस भन्ने उदेश्यले आर्थिक सयोग गरेको बोगटीले बताउनुभयो । केही दिन अघि क्यान्सर पिडित ढोलीको अवस्थाका बारेमा विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि ढोलीको अवस्था देखेर आफु प्रभावित भएको भन्दै सानो भएपनि सहयोग गरिएको बोगटीको भनाई छ । नरी ढोली बचाउ अभियान अन्तरगत दलित एकता समाज कमलबजारले विभिन्न निकाय बाट सहयोग मागी रहेको छ ।