

– बालाराम उपाध्यायः
समकालिन नेपालका नेताहरु मध्ये धेरै अध्ययनशिल तथा बढी पुस्तक पढेका नेता हुन् प्रदिप गिरी । २०१७ साल देखि राजनीति शुरु गरेका नेता गिरी नेपाली काङ्ग्रेसको केन्द्रिय तहमा रहेर राजनीति मा हरनु भयो । नेता भन्दा चिन्तक, समालोचक र बिश्लेषकको रुपमा चिनिने उहाँ समाजवाद का प्रणेता हुनुहुन्थ्यो ।
माक्र्सवाद, समाजवाद, राजनीति शास्त्र, इतिहास, अर्थशास्त्र लगाएतको बिषयमा गहिरो अध्यन भएका गिरी कला साहित्यमा पनि उत्तिकै रुचिकर हुनुहुन्थ्यो । संसारका चर्चित ब्याक्तिहरुको जीवनी, चर्चित कथा उपन्यास, नाटक, गित, कविता सबैमा उहाँले सरल र सटिक ब्याख्या विश्लेषण गरेको सुन्दा आश्चर्य लाग्थ्यो । बेद पुराण मात्रै हैन रामायण, महाभारत जस्ता पुस्तक हरु कण्ठस्त थियो उहाँलाई । महाभारतको कथा ठुलै पठित ब्राह्मण या बेदाचार्या भन्दा पनि सजिलै तरिकाले सुनाउथे । छोटो समयमै रामायण र महाभारत कथा सबैले बुझ्ने गरि भन्न सक्ने योग्यता र क्षमता उहाँमा थियो ।
नेपाली जनजीवनको राम्रो अध्ययन गरेका नेता गिरी नेपाली सच्चा राजनीतिज्ञ मात्रै हैनन प्रेरणाको श्रोत पनि हुनुहुन्थ्यो । उहाँको सादगी जीवन, निस्ठाको राजनिती साच्चिकै अनुसरण गर्न लाएक छ । कार्यकरी पदमा पुग्ने, धन सम्पती कमाउने, राज्यको उपल्लो तहमा पुग्न जुनसुकै कसुर बाँकी नराख्ने वर्तमान नेपाली नेताहरु को अगाडि उहाँ उदाहरणीय हुनुहुन्छ ।
यदि मेरो बुझाइ गलत छैन भने, कहिल्यै पदको पछाडी नलागि सत्य र इमानको पक्षपोषण गर्ने कार्यमा उहाँ सधै लाग्नु भयो । देश र जनताको हित, आफ्नो लक्ष्य र उद्धेश्य ठान्ने नेता को निधनले नेपाली काङ्ग्रेस पार्टीका लागि मात्रै हैन, नेपाली जनताको आसाको दिप निभेको छ ।
यस्ता त्यागी र निस्वार्थी नेता युगमा एकपटक जन्मिदा रहेछन् । उहाँ एउटा पार्टीको सदस्य हुँदै गर्दा देश र जनताको हित बिपरितका निर्णयमा विपक्षमा उभिने साहस र हिम्मत निरन्तर गर्दै आउनुभयो । दलिय ब्यबस्थामा दलको निर्णय मान्नु त्यो दलको नेता र कार्यकर्ता को मुख्य दायित्व र जिम्मेवारी हुन्छ तर स्व. गिरीमा यो नियम कहिल्यै लागू भएन र उहाँले जहिल्यै देश र जनताको पक्षमा उभिनु भयो । माओवादीलाई आतंककारी घोषण गर्नेबेला होस् या नेपाल को संविधान घोषणा गर्दा होस् या अन्य दुरगामी महत्त्वका निर्णयमा पार्टीको निर्णयविरुद्ध उभिएका तमाम उदाहरण छन् । जनताको लागि राजनीति गर्नुपर्छ भन्ने बोली र व्यबहार उहाँ मा देखिन्थ्यो ।
नेपालको राजनीतिमा प्रदिप गिरी बिर्सनै नसकिने नाम हो । नेपालको बौद्धिक जगतमा समेत उहाँले गहिरो छाप छोड्नु भएको छ । अन्य नेताहरुले अनुसरण गरुन् । अब उहाँ सम्झनामा मात्रै रहनु भयो । स्व. प्रदिप गिरी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछुं ।
(लेखक उपाध्याय नेकपा माओवादी केन्द्र अछामका जिल्ला सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)
