साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोट निवासी समाजसेवि ज्ञानेन्द्र ख्वाँसले जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्नुभएको छ । समाजसेवि ख्वाँसले ४२ औ जन्मोत्सवको अवसरमा वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृति अक्षय कोष, वैद्यनाथ वेद विद्याश्रमका वटुकलाई न्यानो टोपी वितरण गर्नुभएको छ । वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा ११ हजार १ सय ५५ रुपैया आर्थिक सहयोग र वैद्यनाथ वेद विद्याश्रमका वटुक र गुरुलाई ४० वटा न्यानो टोपी वितरण गर्नुभएको छ ।
यस्तै सुर्खेतको चौकुने गाउँपालिका वडा नं.७ मा रहेको अनाथ आश्रमका १६ जना वालवालिकाको लागि खाद्यान, वाथ रोगका कारण थला परेका साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविका नविन आउजीलाई ५ हजार १ सय ५ रुपैया र साँफेबगर नगरपालिका वडा नं.१० घुघुरकोटका मिग्रौला पिडित दिलिप नागर्जीलाई २ हजार १ सय ५ रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।
वैदिक छात्रवृति अक्षय कोषलाई आर्थिक हस्तान्तरण कार्यक्रममा वोल्दै साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका वडा अध्यक्ष नन्दबहादुर ठकुल्लाले अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिनुभयो । जन्म दिनमा हुने फजूल खर्चलाई कटौति गदै सामाजिक क्षेत्रमा सहयोग गर्नु सकरात्मक कार्य भएको प्रतिक्रिया दिनुभयो ।
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्काले जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्न सकेमा सवैभन्दा पुण्य कमाई हुने बताउनुभयो । आधुनिकता संग–संगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको समयमा जन्म दिनलाई रचनात्मक तरिकाले मनाउन उदाहरणीय काम भएको धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म दिनको अवसरमा महँङ्गा उपहार र भव्य पार्टीको आयोजना गरी गरिने फजुल खर्चको सट्टा सामजिक क्षेत्रमा गर्नु पर्नेे जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवरले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताउनुभयो । आफुले कमाएको केही सम्पत्ति सामाजिक र परोपकार सेवामा खर्चिने परिपाटीले सकरात्मक सन्देश दिएको बताउनुभयो ।
यस्तै जन्म दिनलाई तडक भडक नभई सामाजिक क्षेत्र र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग नै आफ्नो लागि सवैभन्दा ठूलो भएको सामाजसेवि ख्वाँसको भनाई रहेको छ । उहाँले आगामि दिनमा पनि यस्तै सामाजिक क्षेत्रमा सहयोग गरेर जन्मोत्सव मनाउने धारणा व्यक्त गर्नुभयो । यस अघिका जन्मोत्सवमा पनि ख्वाँसले आर्थिक अवस्था कमजोर भएका व्यक्ति र समुदायलाई सहयोग गर्नुभएको थियो ।
फरकपनको अभ्यास
mangalkhabar.com