
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको फ्रेन्चाइज लिग नेपाल टी–२० मा ‘फिक्सिङ, ‘स्पट फिक्सिङ’सहित अन्य बेथिति देखिएपछि क्यान अनुसन्धान घेरामा तानिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप), गृह मन्त्रालय मातहत केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीलगायतका निकायले क्यानबारे अनुसन्धान थालिसकेका छन् ।
मंगलबार लिगमा केही अप्रत्याशित घटनाक्रम देखिएपछि भने क्यानको विवाद सतहमा आयो । लिगको सुरुवातदेखि नै कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा आफूले ‘स्पट फिक्सिङ’को अनुभव गरेको बताउँदै प्रतियोगिताबाट बाहिरिने घोषणा गरे । सोही दिनको पहिलो खेलमा काठमाडौं र विराटनगरको खेलअघि दुवै टिमका खेलाडीले क्लबका मालिक सम्पर्कमा नआएको र पारिश्रमिक पनि नपाएको भन्दै खेल्न मानेनन् ।
तर, पछि क्यानका अधिकारी, अन्य प्रतिनिधि र खेलाडीबीच सहमति बनेपछि खेल सुरु भएको थियो । र, सोही खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । ज्ञानेन्द्रले खेलाडी र प्रस्ताव गर्ने को थिए भन्नेबारे नखुलाएपनि यसबारे आफूहरूले एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी गरिसकेको बताएका थिए ।
लिगमा एकपछि अर्को विवादस्पद घटना बाहिरिएपछि मंगलबार नै गृह मन्त्रालयले यसबारे छानबिनका लागि पत्र काटेको थियो । यस्तै, प्रतियोगिताको लागि विदेशी खेलाडीको श्रम स्वीकृति र लिग सञ्चालनको सम्बन्धमा क्यानसँग आवश्यक प्रमाण तथा कागजात माग गरेपनि त्यसको बेवास्ता गरेको र लिगमा विसंगति देखिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो ।

लिगमा फिक्सिङको कुरा बाहिरिएपछि विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि यसमा चासो देखाउँदै यसको छानबिनका लागि दुई सदस्यीय टिम नेपाल पठाएको थियो । आईसीसीको एन्टी करप्सन युनिटका सिनियर एन्टिग्रिटी अफिसर एन्ड्रयु एफग्रेभ नेतृत्वमा आएको टिमले बिहीबार लिगका त्रिवि क्रिकेट मैदानमा लिगका अम्पायर, खेलाडी र अन्य प्रतिनिधिसँग कुराकानी गरी त्रिपुरेश्वरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग पनि यसबारे छलफल गरेको थियो ।
लिग खेल्न आएका विदेशी खेलाडीहरूले श्रम स्वीकृति र अनुमतिबिना नै लिग सञ्चालन भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । यसका लागि आयोगले सात दिनभित्र सम्बद्व कागजातसहितको राय प्रतिक्रियाका लागि राखेपलाई पत्र काटिसकेको छ ।
क्यानले वैशाखमा प्रतियोगिताको घोषणा गर्दादेखि नै लिग विवादमा फसेको थियो । लिगको घोषणा गरेपछि क्यानले अन्य प्रतियोगितालाई राष्ट्रिय लिगको मान्यता नदिने घोषणा गर्नु, लिगका लागि सेभेन थ्री स्पोर्ट्ससँग बोलपत्र आह्वानबिना नै रणनीतिक र व्यवासायिक साझेदारको रूपमा सम्झौता गर्नु यो विवाद शृङ्खलाको सुरुवाती विन्दु हुन् ।
अझ प्रतियोगिताको रणनीतिक साझेदार वान एक्सब्याटले टाइटल स्पोन्सरको रूपमा वान एक्सब्याटसँग अर्को विवादास्पद सम्झौता गर्यो । वान एक्सब्याट न्युज कम्पनी भएको बताएपनि नेपालमा बेटिङ प्रतिबन्धित वान एक्सबेटसँग जोडिएको कुरा ‘ओपन सेक्रेट’ नै हो ।
पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको कुल ३४ खेलमध्ये अहिले २८ खेल सम्पन्न भइसकेका छन् । प्रतियोगिताको फाइनल खेल पुस २७ गते हुने तालिका छ ।
-barakhari
