सहिद क. टंक बोगटीको सालिकमा फुल चढाउन पाईयोस
कमल बिकः
म लगायत अछामका खुकुरीको धारमा आफ्नो ज्यान राखेका सम्पूर्ण कम्रेड हरुको आदर्श हुन सहिद क. टंक बोगटी । क्रान्तिको झिल्को उठाउँदै सामन्तवादका बिरुद्ध अग्रगामी परिवर्तनका लागि अछाममा १० वर्षे जनयुद्दको सुरुवातीकर्ता सहिद क. बोगटीको योगदानलाई कुनै खास मूल्याँकन नगरिएको पाउँदा एक सच्चा क्रान्तिकारीको मन कटक्क दुख्छ ।
म एक (नेकपा माओवादी केन्द्र) आस्थावान कार्यकर्ता हुं । अखिल क्रान्तिकारी बिध्यार्थी संगठनको पूर्व जिल्ला सदस्य पनि हुं । अछामको बिकट बस्ती, जहाँ पुरै पारिवारिक माहोल नै क्रान्तिको पक्षमा थियो र सामन्तबादका बिरुद्द पार्टीले उठाएको एजेण्डालाई आत्मसाथ संघर्ष गरेको थियो । गरिब, पछाडी परेको वर्ग समुदायको उत्थान कर्ता पार्टी र त्यसको मुल नेतृत्वकर्तालाई राज्यपक्षबाट हत्या गरिएपछी अछामको माआवादी आन्दोलनमा ठुलो क्षती पुग्यो र उक्त क्षती अहिलेपनि पूर्ती गर्न सम्भव छैन । ग्रामिण जनताहरुमा क्रान्तिको ज्वाला दन्काउन हिडेको योद्दा परिवर्तनका खातिर रगत बगाएर सहिद बनिसक्दा पनि पछिल्ला पुस्ता र त्यही आन्दोलनको नेतृत्वकर्ता पार्टीले समेत सम्झिन नसक्नु दुःखद कुरा हो ।
अछामी जनताका धरोहर र चम्किला तारा क. टंक बोगटीले जुन अछामी सर्बहारा श्रमजीवी बर्गको मुक्ति को लागि क्रान्तिमा होमिएका थिए र प्रतिक्रियावादी तत्व (तत्कालिन राज्य पक्ष) बाट क. टंक बोगटी लाई कहिलै नफर्कने गरि पठाईदिए । क. बोगटी जीवित भैदिएको भए आज अछामको माओवादी आन्दोलन अझ सशक्त र सुदृढ देख्न सकिन्थ्यो होला ।
तर अफसोच हाम्रो आदर्श पुरुष हामीमाझ हुनुहुन्न । उहाँको उत्तराधिकारी कमरेडहरु अहिले पनि राम्रै पोजिशन र पदमा उनुहुन्छ तर पार्टीृ र आदरणिय नेताहरुलाई भन्न मन लाग्छ ‘कमरेडहरु, महान सहिद बोगटीलाई हामी किन सम्झिन सकिरहेका छैनौं? के हामी उहाँको एउटा सालिक निर्माण गरेर वर्षमा एक पटक फुल चढाउँन सक्दैनौं ?’ कि हाम्रो जिल्ला नेतृत्व र जिल्ला पार्टीले सालिक बनाउने समय समेत पाएको छैन ? हाम्रै पार्टीको सरकार बन्यो, हाम्रा धेरै नेताहरु मन्त्री तथा साँसद बने तर स्व. क. टंक बोगटीलाई सम्झिने र उहाँको योगदानको सम्मान गर्ने बेला भने कहिल्यै आएन ।
यहाँ मैले स्व. कमरेड बोगटीको सन्दर्भमा केही कुरा राख्दै गर्दा अन्य तमाम सहिहरुको योगदानको समेत उच्च कदर गर्न चाहन्छुं । माओवादी अछामको संस्थापक र आदरणिय व्यक्तिको त यहाँ पार्टी र नेतृत्वले वास्ता गर्न सकेको छैन भने अन्य सहिद परिवार र घाईते अपाँगहरुको अवस्था के होला । यहि कुरालाई यहाँ प्रतिविम्वित गर्न खोजेको हुं मैले ।
तमाम नेता कार्यकर्ताको आस्थाको धरोहर नकपा माओवादी केन्द्लाई अझैं जनतासामु लोकप्रिय र शानदार पार्टीका रुपमा स्थापीत गर्न चाहने हो भने सहिदको सपना, योगदानको अवमूल्यन नगरि अघि बढ्न जरुरी छ । पार्टी नेता कार्यकर्ताहरु नाताबाद, कृपावाद र कमिशनखोर बनेर कहिपनि पुगिने देखिदैन । यहि प्रवृतिका कारणले पार्टी झनझन धरासयी हुदैछ । हामीलाई सहिदको रगत, सपना र घाईते तथा वेपत्ता योद्दाहरुको चिच्याहटले अत्याईरहने छ । जिस्काईरहने छ । अन्ततोगोत्वा बिलयको बाटोमा जानुपर्ने निश्चित छ ।
अहिले सुदूरपश्चिम प्रदेश सरकार माओवादीकै नेतृत्वमा छ, कयौैं नेताहरु मन्त्री र साँसद हुनुहुन्छ । तर स्व. कमरेड टंक बोगटी लगायत सहिदहरु र तमाम घाईते तथा वेपत्ता योद्दाहरुको योगदान र उनीहरुका परिवारहरुको वास्तविक पिडा र अवस्था के छ कसैलाई मतलव छैन ।
मैले एउटै अपेक्षा राखेको छुं की अछामका प्रथम सहिद क. टंक बोगटको सालिक वनोस, बेला मौकामा ति आदर्श पुरुषको शालिकमा फुल चढाउन पाईयोस, र जुगजुग सम्म पनि उहाँको बाटो पछ्याँउदै पछाडी पारिएको वर्ग समुदायको उत्थानको लागि आवाज बुलंद पार्ने प्रेरणा जागीरहोस ।
(रोजगारीको शिलशिलामा भारतमा रहेका लेखक कमल बिक अछामको मंगलसेन नगरपालिका १३ वस्ती निवासी हुन ।)
