
अछाम:-

मंगलसेन नगरपालिकामा व्यापक यौनिकता शिक्षा (CSE) सम्बन्धी प्राविधिक कार्यसमूहको बैठक सम्पन्न भएको छ। बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।
मंगलसेन नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बिर्ख बहादुर बोहोराको अध्यक्षतामा सम्पन्न बैठकमा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएकाे थियोे। साथै प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारी, विषयगत, UNFPA का अछाम प्रमुख भरत गाेतामे, पत्रकार महासंघका बरिस्ठ उपाध्यक्ष टेक बहादुर थापा, विषयगत शाखाका प्रमुखहरू शिक्षक तथा किशोरीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

बैठकमा विद्यालय तहमा व्यापक यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउने, किशोर किशोरीमैत्री सूचना केन्द्रकाे अवस्थाबारे अनुगमन गर्ने तथा आवश्यक सुधारका उपायहरू अवलम्बन गर्ने विषयमा छलफल भएको थियो। सहभागीहरूले किशोर–किशोरीमैत्री सिकाइ वातावरण सिर्जना गर्न शिक्षक क्षमता अभिवृद्धि, स्रोत सामग्रीको उपलब्धता तथा समन्वयात्मक कार्यशैलीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
यस्तै, यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रम र योजना तथा बजेटसँग जोड्दै दीगो रूपमा सञ्चालन गर्ने, सरोकारवाला निकायबीच समन्वय बढाउने र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने निर्णय समेत गरिएको छ।
UNFPA, GNI र COICA को सहयोग तथा वाक नेपाल SAFE Girls परियोजनाको आयोजना र मंगलसेन नगरपालिकाको समन्वयमा बैठक आयोजना गरिएको थियो। बैठकको सञ्चालन संघसंस्था समन्वय शाखा प्रमुख होम बहादुर साउदले गरेका थिए।
बैठकले व्यापक यौनिकता शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउँदै किशोर–किशोरीहरूको समग्र विकासमा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

