
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार जितको सुरूआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।
२३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गरे ।

उनले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए । जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए। ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरूआती दबाब भएको थियो ।
पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए । पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले ।
नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।
