
काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि मैदानमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।


एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो। नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले। ६४ बल खेलेका उनले १० छक्का र ९ चौकाको सहयोगमा १ सय ८ रनको महत्वपूर्ण योगदान गरे। युवा अलराउण्डर कुशलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । सोमपाल कामी ६३ र करण केसी २९ रनमा अविजित रहे ।
भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाउँदा सन्दीप लामिछाने ८ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए । अब केहीबेरमा ओमानले जवाफी ब्याटिङ थाल्नेछ ।
यसैबीच आजको खेल लेग स्पीनर सन्दीप लामिछानेका लागि महत्वपूर्ण छ । आजका खेलमा विकेट लिए लामिछानेले एकदिवसीय खेलमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा बनाउनेछन् । सन्दीपले ४१ खेलमा ९९ विकेट लिइसकेका छन् । हाल यो कीर्तिमान ४४ खेलमा १ सय विकेट पूरा गरेका अफगानिस्तानका बलर राशिद खानको नाममा छ ।
