
काठमाडौं । नेपाली टिमका बलर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान कुनै नेपाली खेलाडीले नै तोडुन भन्ने चाहना रहेको बताएका छन् ।
एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको दोस्रो खेलमा ओमानविरुद्ध खेल्दा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । सन्दीपले यो कोसेढुंगा ४२ खेलमा भेट्टाएका थिए । यसअघि यो कीर्तिमान बनाएका अफगानिस्तानका स्पिनर राशिद खानले ४४ खेलमा १०० विकेट लिएका थिए ।
“सँधै मेरो नामभन्दा अघि नेपालको नाम आउँछ । तथ्यांकमा पनि नेपाली बलर र नेपालको भन्ने लेखिन्छ । हामी मरेर गए पनि त्यहाँ नेपालको नाम सँधै रहिरहने छ । कसैका लागि पनि यो उत्कृष्ट सफलता हो । यो तोड्ने पनि कोही नेपाली बलर नै होस् भन्ने मेरो चाहना छ,” सन्दीपले भने ।
नेपालले बिहीबार कतारविरुद्ध ६८ रनको जित निकाल्दा सन्दीपले अलराउन्ड प्रदर्शन गरेका थिए । कतारविरुद्ध ब्याटिङका लागि १०औँ नम्बरमा मैदान प्रवेश गरेका सन्दीपले अविजित ४२ रन जोडेका थिए । यस्तै, बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले पाँच विकेट लिएका थिए ।
सन्दीपले कतारविरुद्ध नेपाली टिम १११–९ को अवस्थामा रहँदा अन्तिम विकेटका लागि ललितनारायण राजवंशीसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई १५७ को योगफलसम्म पु¥याएका थिए । सन्दीपलाई एक एन्डबाट राम्रो साथ दिएका ललितले भने एक रन जोडेका थिए ।

खेलपछि पत्रकारहरूसँगको कुराकानीमा सन्दीपले आफ्नो ब्याटबाट रन बन्नुको सम्पूर्ण श्रेय ललितलाई दिए ।
“१०औँ नम्बरमा ब्याटिङमा गएको भए पनि दबाब थिएन । खेल्ने बेला ब्याटर बलको कहानी मात्र हो । आफ्नो आधारभुत कुरालाई पछ्याइरहेको थिए । धेरै ओभर बाँकी थियो । यसैकारण म र ललितले हाम्रो लागि प्रत्येक रन महत्वपूर्ण छ भन्ने कुरा गरिरहेका थियौं । हामीले अन्तिममा २०–२५ रन थप्दा पनि केही चुनौती दिन सक्छौँ भन्ने सोचेका थियौं,” सन्दीपले भने, “ब्याटिङमा एक टिमको रुपमा केही संघर्ष गर्नुप¥यो । तर, १५७ पुगेपछि सक्छौँ भन्ने भयो । टिम फ्लेक्जिबल छ, जो जहाँ पनि ब्याटिङ गर्न सक्छ । ललितले गरेको योगदान पनि निकै महत्वपूर्ण छ । उसले यति राम्रो साथ नदिएको भए म ४२ को स्कोरसम्म पुग्दिनथे होला ।”
सन्दीपले आफ्नो खेल करियरमा पुबुदु दासानायके र पारस खड्काको भूमिका महत्वपूर्ण भएको बताए ।
“मेरो जीवनमा सबैभन्दा धेरै प्रभाव राख्ने व्यक्ति अरु कोइ नभई पुबुदु दासानायके सर हुन् । त्यसपछि पारस दाई, ज्ञानु दाई, शरद दाई पनि हुनुहुन्छ । यसमा धेरै मानिसहरू छन्, जसलाई म बिर्सिन सक्दिन । त्यसमा सबैभन्दा माथि राजु सर र पुबुदु सरलाई राख्नु पनि पर्छ । मैले पारस दाईको कप्तानीमा खेल्न पाए । त्यसमा आफूलाई भाग्यमानी मान्छु । किनभने पारस दाई नेपाली क्रिकेटको सबैभन्दा उत्कृष्ट हुन्,” सन्दीपले भने ।
जितसँगै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता कुवेतसँग खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल शनिबार हुनेछ ।
खेलपछिको पत्रकार सम्मेलनमा ललितले आफूले पाएको जिम्मेवारी निभाउने प्रयास गरेको प्रतिकृया दिए ।
“दबाबभन्दा पनि नेटमा पनि त्यही प्रशिक्षण गरिन्थ्यो । कसरी बललाई डिफेन्ड गर्ने भनेर । मैले सन्दीपलाई म आउट हुथिन भनेको थिए । टिमले मलाई पावर प्लेमा सके विकेट लिने नसके सक्दो रन रोक्ने जिम्मेवारी दिएको छ । यसले दोस्रो पावर प्लेमा हाम्र्रो बलरलाई सहयोग हुन्छ भन्ने जिम्मेवारी छ । त्यहीअनुसार लाइन टू लाइन बलिङ गर्ने, विकेट आए ठिक छ नआए पनि रन रोक्ने योजनामा हुन्छु म ।”
