

– डिल बहादुर महरा “अविचल”
मर्दैछन् पद लुब्ध खातिर खुबै, गोरा र कालाहरू ।
भर्दैछन् अझ ज्वाइँ साथ ससुरा, सम्धी र सालाहरू ।।
होला के अब राजनीति यसरी, बच्ला र के शेषमा ?
हाँक्दैछन् गणतन्त्र ठालु मुखिया, आतङ्क भो देशमा ।।
।१।
झुक्दै रुन्छ हिमाल फाँट पहरा,तड्पिन्छ डाफे चरी ।
कस्तूरी परदेशको शरणमा,भाग्छन् बिलौना गरी ।।
हो कस्तो चलखेल नृत्य रणमा,चुस्छन् जुका भेषमा ।
डङ्काझैँ गणतन्त्र यो फजुलको,आतङ्क भो देशमा ।।
।२।
चारौँतर्फ मडारियो घनघटा,अन्यायको बादल ।
गर्छन् मालिक नै खुबै मनपरी,चल्दैछ ज्याद्रो छल ।।
अत्याचार अदम्य फैलिन गयो,स्वाँठे उठे जोसमा ।
बन्छन् मादल मात्र आज जनता,आतङ्क भो देशमा ।।
।३।
पुर्खाको इतिहास सिर्जन सबै ,बेचिन्छ ठेक्का हुँदै ।
गाई मन्दिर मुर्ति नासिन गए,संस्कार भागे रुँदै ।।
खान्छन् खान हुने तथापि नहुने,छोडिन्न है रोषमा ।
स्वप्ना खाक बने रहेन ममता,आतङ्क भो देशमा ।।
।४।
हाम्रो इज्जत धर्म मान मनितो,बिक्री भयो सिद्धियो ।
आए दुच्छर नै तमाम तलवी,जो जे थियो रित्तियो ।।
सत्ता फिर्दछ टिक्छ चल्छ यसरी,सर्वोच्चकै केसमा ।
मुर्दा शासक पात्र राक्षस बने,आतङक भो देशमा ।।
।५।
छन् सल्लाह र गोप्यता अगतिला,सारा पराई तिर ।
बेच्दैछन् बहुमूल्य वस्तु क्षणमा,देखिन्छ जो सुन्दर ।।
सीमा माइल होस् कि वा मिटरमा,अन्यौल भो कोषमा ।
हार्दैछन् अब लिम्पिया दशगजा,आतङ्क भो देशमा ।।
।६।
(कवि डिल बहादुर महरा “अविचल”, दिपायल शिलगढि न. पा. अधिकृत छैटौं पदमा कार्यरत हुनुहुन्छ ।)
