के स्वर्ग भेटिन्छ र ?
भाग – २७
आफैँ बढ्छ बिराम किन्तु मनमा मात्सर्य गाढा हुँदा ।
होला जीत कहाँ समस्त जनमा सन्तुष्टि टाढा हुँदा ?
भित्री सोच घिनाउँदो थिलथिलो आदर्शझैँ बाहिर ।
बित्ला जीवन दर्दनाक यसरी के स्वर्ग भेटिन्छ र ?
।१३१।
खोक्रो सोच लिई हुँदै मतलबी अन्योल बन्नेहरू ।
हुन्छन् भार समानका हरघडी मैमात्र भन्नेहरू ।।
आफ्नै जोड घटाउमा दिनदिनै बोलेर के हुन्छ र ?
चिन्दैनन् जसले किमार्थ जग यो के स्वर्ग भेटिन्छ र ?
।१३२।
बुझ्नैपर्छ समानता र समता सौहार्दका जीवन ।
रोजेका अधिकार साथ गतिलो कर्तव्य बोकीकन ।।
सच्चा नैतिकता र धैर्य रहँदा के काम बन्दैन र ?
आफ्नैनिम्ति सदैव लम्पट हुँदा के स्वर्ग भेटिन्छ र ?
।१३३।
खाली हात बिचार शून्यपनका रित्तो बनी बस्दछन् ।
भेट्दा नाग समान दुश्मन बनी सोझातिरै डस्दछन् ।।
साझा चिन्तनमा खुला हृदयमा बेकाम के हुन्छ र ?
आगो आरिसको पिई बसिरहे के स्वर्ग भेटिन्छ र ?
।१३४।
मान्छे हुन् उपहार सृष्टि भरका देवत्वको सिर्जना ।
सक्छन् नायक बन्न लायक हुँदै रोपी नयाँ चाहना ।।
केही छैन यहाँ असम्भव कुरा उम्दा बने जाँगर ।
इच्छाशक्ति अनर्थ दुर्बल भए के स्वर्ग भेटिन्छ र ?
।१३५।
– डिल बहादुर महरा
