
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले देशभर नयाँ लहर र उत्साह ल्याउने बताएका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
‘आज म विराटनगरमा एकैछिन बस्दा त्यहाँ ठूलो उत्साह रहेछ । केही साथीहरूले मलाई लहै कमरेड देशभर नयाँ लहर ल्याएको छ भनेर भन्नुभयो’, प्रचण्डले भने, ‘अब लहर ल्याउने नै हो । निराशा, पश्चहिम्मती सबैलाई सिध्याएर नयाँ उत्साहका र नयाँ एकताका साथ प्रतिगमनका विरुद्ध आउने दिनमा नयाँ लडाइ छेड्ने नै हो ।’

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ?
चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।
सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ ।
यस्तै मोर्चाको निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ ।
