
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र समृद्धिको आन्दोलनमा वलिदान नै दिन परेपनि पछि नहट्ने बताएका छन् । शुक्रबार निजी निवासमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि दसौं हजारले वलिदान गरेको र त्यही राजनीतिक परिवर्तनको उद्धेश्य प्राप्तिका लागि अहिले भएको नयाँ खालको आन्दोलनमा वलिदान गर्न आफूहरू तयार रहेको बताएका हुन् ।

उनले भ्रष्टाचारविरूद्धको अभियानका क्रममा विभिन्न किसिमका धम्कीहरू आउने गरेको तर त्यसलाई चासो नदिई सुशासन र समृद्धिको पक्षमा सरकार निरन्तर दृढ भएर लागेको बताए । ‘दसौं हजारको वलिदानबाट राजनीतिक परिवर्तन ल्याएको होइन ? अनि यो परिवर्तन केका लागि?’ उनले भने, ‘सामाजिक आर्थिक रूपान्तरण गर्न र नेपाली जनताहरूको जीवन बदल्न होइन ? यो नयाँ प्रकारको आन्दोलनमा हामी बलिदान हुन नपरे किन तयार नहुने ?’
उपप्रधानमन्त्री श्रेष्ठले पैसा कमाउनकै लागि आफ्नै देशको नागरिकलाई अनागरिक बनाउने र शरणार्थीका रूपमा विदेश पठाउनेजस्तो निकृष्ट हर्कत भएकाले आफू चुप लागेर बस्न नसकेको बताए । उनले प्रधानमन्त्री सुशासनको पक्षमा अहिले अत्यन्त दृढ रहेको बताए । ‘अहिले बेथितिलाई अन्त्य गर्न, राष्ट्रविरोधी कमिशनखोरको जालोलाई तोड्न, कमिशनका निम्ति राज्यलाई धोका दिने नोक्सान गर्ने, यसमा संलग्नहरु र भ्रष्टाचारीहरूलाई कारबाही गर्न ठग र अपराधीहरूलाई कारबाही गर्न कुनै सम्झौता हुँदैन,’ उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले मधेसमा १३ सय भन्दा बढी मिटरब्याज पीडितले न्याय पाएको बताए ।
