
धनगढीः पशुमा लागेको ‘लम्पी स्किन’ रोगका कारण सुदूरपश्चिम प्रदेशका किसानले अर्बौ रुपैयाँ बराबरको क्षति बेहोरेका छन् । दुहुने भैँसी तथा गाईवस्तु लम्पी स्किन रोगले मर्न थालेपछि किसानको दैनिक आम्दानी नै बन्द भएको छ। सुदूरपश्चिम प्रदेशमा ३ लाख १० हजार पशु चौपाया सङ्क्रमित भएका छन् ।
पशु चौपायाको मृत्युबाट सुदूरपश्चिमका किसानले ठूलो क्षति बेहोरेका छन् । यो रोगबाट करिब २५ हजार गाईवस्तु मरेपछि किसानलाई ठूलो नोक्सानी पुगेको छ । लाखौँको संख्यामा पशुहरु संक्रमित भएपछि दैनिक दूध उत्पादनमा कमी आएको छ। रोग नियन्त्रणको प्रयास भइरहेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रोग नियन्त्रणका लागि पशु चौपायालाई लगाउने खोपका लागि संघीय सरकारसँग समन्वय गरेर पीडित किसानलाई राहत र सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ ।

खोप लगाउन मात्र कैलालीमा दुई लाख डोज आवश्यक पर्ने देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए । उनका अनुसार पहिलो चरणमा तीन सय, दोस्रो चरणमा दुई सय र अहिले दुई सय ८५ प्रति खोप खरिद मुल्य पर्ने गरेको छ। कैलालीमा मात्र दुई लाख खोपको डोज आवश्यक पर्ने देखिएको उनले बताए । यसका लागि चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।
बाँकी ८ जिल्लामा पनि १६ लाख खोपको डोज खरिद गर्न ३२ करोड आवश्यक पर्ने देखिएको छ । लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायत लक्षण देखा पर्ने गरेको पशुरोग चिकित्सकले बताएका छन् ।
खोपबाट संक्रमण रोक्न सकिने भए पनि सुदूरपश्चिममा पर्याप्त खोप नभएको पशुचिकित्सको गुनासो छ । साथै लम्पी स्किनको उपचार थाहा नभएर पनि चौपाया मरेको डाक्टर अवस्थीले बताए । ‘चौपायालाई लम्पी स्किन हुँदा ज्वरो आउँछ। यसरी ज्वरो आउँदा सिटामोल खुवानुपर्थ्यो,’ उनले भने, ‘सही उपचार र संक्रमण फैलिनु अगावै खोप दिन नसक्दा पहाडी जिल्लामा धेरै पशु मरेका छन् ।’
-dineshkhabar
