जिल्ला अस्पताललाई बजेट अभावमा समस्यामा पर्न नदिनेः सामाजिक विकासमन्त्री साउद
पहाडि जिल्लाका अस्पतालहरुमा विशेषज्ञ सेवा प्रदान गर्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको भनाईः

अछाम, ११ कार्तिकः
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउदले पहाडि जिल्लाका अस्पतालहरुमा विशेषज्ञ सेवा प्रदान गर्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ । जिल्ला अस्पताल अछामको निरिक्षण पश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री साउदले जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार विकासका लागि तत्काल ओएनएम गर्ने पहल भैरहेको बताउनुभयो ।
जिल्ला अस्पताललाई बजेट अभावमा समस्या पर्न नदिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री साउदले जिल्ला अस्पताल प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । १५ सैयाको अस्पताललाई स्तरोन्नती गरि ५० सैयासम्म विस्तार गर्नका लागि प्रदेश सरकारले आवश्यक नीतिगत र व्यवस्थापकिय पहल गर्ने उहाँको भनाई छ । जिल्ला अस्पताल अछामका स्वास्थ्यकर्मीरुलाई उच्च मनोबलका साथ ईमान्दार र जिम्मेवारीका साथ जनतालाई सेवा प्रदान गर्न आग्रह गर्दै पेशागत सुरक्षा र सेवा सुविधाका लागि पनि सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारसचेत रहेको उल्लेख गर्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य नन्द बहादुर साउद, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सुरत भण्डारी, जिल्ला कार्यालय सचिव तथा मंगलसेन नगर कमिटी सचिव कमल थापा लगायत जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला अस्पतालका निमित्त मेसु रबि कुमार यादबले स्वागत मन्तव्य राख्दै अस्पतालको सेवा प्रवाह र हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने संचालन जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गर्नुभएको थियो ।

श्रम अभियान अछामको शनिबारिय सरसफाई कार्यक्रममा मन्त्री साउदको सहभागिताः
यसअघि सामाजिक विकास मन्त्री झपट साउदले मंगलसेन वसपार्क क्षेत्रमा श्रम अभियान अछामले संचालन गरेको सरसफाई कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । सरसफाई कार्यक्रममा सहभागिता जनाउदै उहाँले श्रम अभियान अछामले संचालन गरेको अभियान सकारात्मक रहेको भन्दै अव यसैगरि देशको राजनीति सफा गर्ने, भ्रष्ट्राचार, अनियमितता लगायत नराम्रा कार्य सफा गर्दै जानुपर्ने बताउनुभयो । यस्ता रचनात्मक सामाजिक अभियानहरुमा आफुले गर्नुपर्ने सहयोगका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
सरसफाई कार्यक्रमका अवसरमा श्रम अभियानका अभियन्ताहरुले बसपार्क क्षेत्रको विकास र व्यवस्थापनका लागि पहल गरिदिन मन्त्री समक्ष आग्रह समेत गरेका थिए । सोही अवसरमा मन्त्री साउदले बसपार्क क्षेत्रमा रहेको रुपान्तरण बालक्लवलाई फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो ।
यतिबेला गृहजिल्ला रहेका मन्त्री साउदले अछामका प्रथम सहिद टंक बोगटीको परिवारलाई भेटघाट गर्नुका साथै पार्टी कार्यकर्ता भेटघाटका अतिरिक्त जिल्ला प्रशासन कार्यालयमा जिल्लाको शान्तिसुरक्षाको अवस्था र समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।
