३६ औँ विश्व एड्स दिवसको अवसरमा अछाममा विविध कार्यक्रम सम्पन्न
जिल्लामा हाल एचआइभी एड्स संक्रमितको संख्या ५ सय ९९ जना रहेकाे तथ्यांक सार्वजनिक

१५ मंसिर,मंगलसेन – अछाम जिल्लामा ५ सय ९९ जना एचआइभी एड्सका संक्रमित रहेका पाईएको छ । स्वास्थ्य कतर्यालय अछामको तथ्यांक अनुसार जिल्लामा हाल ५ सय ९९ जना सक्रिय संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन् ।
जिल्लाका बिभिन्न पालिका गरी उक्त संख्यामा सक्रिमित रहेका र उनिहरुले बिभिन्न एआटी सेन्टरबाट औषधी सेवन गरिरहेका जिल्ला अस्पताल अछामका सम्पर्क व्यक्ती हिमाल ढुंगानाले जानकारी दीनुभयो । जिल्लामा चालु आर्थिक बर्ष २०८०÷८१ को श्रावणदेखि हालसम्म १२ जना नयाँ एचआईभी एड्सका संक्रमित फेला परेका छन् ।
उनिहरुले समेत जिल्लमका बिभिन्न एगारटी सेन्टरबाट औषधी सेवन गरिरहेका छन् । जिल्ला अस्पताल, बयालपाटा अस्पताल, चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्र र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रदान भईरहेको छ । अछाममा हालसम्म २ सय ९ जनाको एचआईभी एड्सको संक्रमणबाट मृत्यु भएको तथ्यांक छ ।
यसैबिच सुदूरपश्चिममा एक वर्षमा ६४ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, कैलालीको तथ्याङ्क अनुसार एक वर्षमा सुदूरपश्चिमका ६४ एचआइभी सङ्क्रमितको मृत्यु भएको हो । प्रदेशमा एचआइभीबाट मृत्यु हुनेको संख्या महिलाको धेरै छ । सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९÷०८० मा २४ पुरुष र ४३ महिलाको एचआइभीका कारण मृत्यु भएको थियो ।
प्रदेशमा हालसम्म पाँच हजार एक सय ९० जना एचआइभी सङ्क्रमित रहेको अनुमान गरिएको छ । तर, प्रदेशमा चार हजार सात सय १७ जना एचआइभी सङ्क्रमितहरू मात्र पत्ता लागेका छन् । बाँकीको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूको खोजीका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा समूदायले काम गर्दै आएका छन् ।

सुदूरपश्चिममा तीन हजार ६ सय २३ जना एचआइभी सङ्क्रमितले अहिले औषधिको प्रयोग गर्दै आएका छन् । गत आर्थिक वर्षमा मात्र दुई सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा एक सय तीन महिला, एक सय ४७ पुरुष र दुई जना यौनिक अल्पसंख्यकमा एचआइभीको सङ्क्रमण पत्ता लागेको छ ।
सुदूरपश्चिममा गत वर्ष एक लाख ४४ हजार ६ सय ४९ को एचआइभी परीक्षण गरिएको थियो । ५३ हजार नौ सय ८ गर्भवतीको समेत एचआइभी परीक्षण गरिएको थियो । चार गर्भवतीमा एचआइभीको सङ्क्रमण फेला परेको थियो ।
यसैबिच आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित अछाम जिल्लामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्ला सदरमुकाम मंगलसैनमा बिभिन्न कार्यक्रम गरी एड्स दिवस मनाईएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालयको आयोजना तथा जिल्ला अस्पताल अछाम, मंगलसैन नगरपालिका, वाक नेपाल र एड्स हेल्थ प्रतिष्ठानको सहकार्यमा बिभिन्न कार्यक्रम भएका हुन् ।
आज बिहान सदरमुकाममा प्रभात फेरी र दिउसो षोडशा माबीमा हाजिरिजवाफ प्रतियोगिता गरिएको छ । यस्तै दिवसको अवसरमा अघि बेलुकीपख जिल्ला अस्पताल अछाममा क्याण्डिल बालिएको छ ।
उता दिवसकै अवसरमा जिल्लाको बयालपाटा अस्पतालमा पनि सरसफाई गरिएको छ । ३६औं विश्व एड्स दिवसको अवसरमा आज अस्पताल परिसरमा सरसफाई गरिएको हो । असपतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले नियमित रुपमा सरसफाई कार्यक्रम गर्दै आएपनि यसपटक बिश्व एडस् दिवसको अवसर पारेर सरसफाई गरीएको बताउनु भएको छ ।
साथै उहाँले एचआईभी एड्स रोगबाट बच्न र रोगको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । अस्पतालमा कार्यरत सबै स्वास्थ्कर्मी तथा कर्मचारीहरुले हरेक महिनाको अन्तिम शुक्रबार बिहान एक घण्टा सरसफाई गर्ने गरेका छन् । अस्पताल परिसरको वाताबरण स्वच्छ सफा राख्न र प्रदुषणबाट लाग्ने रोग लाग्न नदिन समेत सरसफाई गर्ने गरिएको अस्पतालले जनाएको छ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाएको छ । सोही अवसरमा बयालपाटा अस्पतालमा समेत सरसफाई गरिएको हो ।
