
अछामः बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ। मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।


बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा–९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली खटिएको थियो । साथै मङ्गलसेन नगरपालिकाको दमकल पनि आगलागी नियन्त्रणमा खटाइएको थियो । स्थानीयका अनुसार बेलुका सवा ७ बजेतिर सुरु भएको आगलागी मध्यराती मात्रै पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

